प्रतिनिधि सभाको पहिलो बैठकका लागि पाँच कार्यसूची तय

प्रतिनिधि सभाको पहिलो बैठकका लागि पाँच कार्यसूची तय



काठमाडौं । फागुन २१ को निर्वाचनपछिको प्रतिनिधि सभाको पहिलो बैठकका लागि पाँच बुँदे कार्यसूची निर्धारण गरिएको छ ।

बुधबार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभा हलमा बसेको सर्वदलीय बैठकले उक्त कार्यसूची तय गरेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका प्रतिनिधिहरू सहभागी थिए ।

निर्धारित कार्यसूचीअनुसार बैठकको प्रारम्भमा अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ । सभामुख चयन नभएसम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले बैठकको अध्यक्षता गर्ने व्यवस्था गरिएको छ ।

पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूबाट सम्बोधन हुने अभ्यासलाई यसपटक पनि निरन्तरता दिइने जनाइएको छ ।

त्यसैगरी, सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ । सहमतिअनुसार मनोनयन दर्ता चैत २० गते र निर्वाचन चैत २२ गते हुने तय गरिएको छ ।

सभामुख निर्वाचनसम्बन्धी प्रक्रिया प्रतिनिधिसभा नियमावली अनुसार सञ्चालन हुनेछ । एक मात्र उम्मेदवार भएमा निर्विरोध घोषणा गरिनेछ भने एकभन्दा बढी उम्मेदवार भएमा प्रस्ताव र समर्थनपछि संक्षिप्त छलफल गरी बहुमतका आधारमा निर्णय गरिने व्यवस्था छ ।

नयाँ नियमावली तयार नहुँदासम्म पुरानै व्यवस्था अनुसार संसदीय कार्य सञ्चालन गर्ने सहमति पनि बैठकमा गरिएको छ, जसलाई प्रतिनिधि सभाबाट अनुमोदन गरिनेछ । साथै, अघिल्लो सरकारले जारी गरेका अध्यादेशहरू टेबुल गर्ने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।