वीर अस्पतालले हाजिरी व्यवस्थापनमा कडाइ

वीर अस्पतालले हाजिरी व्यवस्थापनमा कडाइ



काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ । कार्यालय समयभन्दा ढिलो गरी उपस्थित भएमा कारणसहित सम्बन्धित विभाग वा समूहमा जानकारी गराउनुपर्ने र तोकिएको समय नपुगेमा आधा दिन बिदा कटौती हुने व्यवस्था गरिएको हो ।

चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ तथा प्रशासनिक कर्मचारीलाई कार्यालय समयमा अनिवार्य उपस्थित भई जिम्मेवारी पूरा गर्न निर्देशन दिइएको छ भने कुनै कारणवश अनुपस्थित हुनुपरेमा सम्बन्धित इन्चार्जमार्फत प्रशासनलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

कार्यालय समय आउँदाे वैशाख १ गतेदेखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १५ देखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कायम गर्ने प्रस्ताव गरिएको छ ।

समितिको बैठकले अस्पतालको सेवा प्रवाह सुधार, अनुशासन कायम तथा व्यवस्थापन सुदृढीकरणका लागि १४ वटा निर्णय गरिएको अस्पतालका निर्देशक डा. दिलीप शर्माले जानकारी दिए ।