संसदमा बादलको अभिव्यक्तिप्रति एमालेकै नेताहरूको आपत्ति

संसदमा बादलको अभिव्यक्तिप्रति एमालेकै नेताहरूको आपत्ति



काठमाठौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले हिजो प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिप्रति एमालेकै नेताहरुले आपत्ति जनाएका छन् ।

बादलको अभिव्यक्ति पार्टीकोे स्थापित नीति र मान्यताविपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बादलको अभिव्यक्तिमाथि टिप्पणी गर्दै आज बस्ने पार्टी केन्द्रीय सचिवालय बैठकमा यसबारे गम्भीरतापूर्वक छलफल हुने बताएका छन् ।

उपमहासचिव योगेश भट्टराईले पनि बादलको अभिव्यक्तिप्रति लक्षित गर्दै नेपाली सेना लगायत सुरक्षा अंगहरू, न्यायालय लगायतका संवैधानिक अंगहरू र कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको स्पष्ट पारेका छन् । यी संस्थाप्रति एमालेको सम्मान र विश्वास रहिरहने भट्टराईको भनाइ छ ।

एमाले संसदीय दल नेता बादलले हिजोको संसद बैठकमा नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँझबुझ आयोग, बारबरा फाउन्डेसन, एनजिओ लगायत संस्था तथा पात्रहरूको भूमिकाका कारण रास्वपाले अभूतपूर्व जित हासिल गरेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।