योगेशले युवाहरूलाई भने– एमाले राम्रो बनाएर तपाईंहरूलाई सुम्पिन्छौँ

योगेशले युवाहरूलाई भने– एमाले राम्रो बनाएर तपाईंहरूलाई सुम्पिन्छौँ



काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी राम्रो बनाएर युवाको हातमा सुम्पिने बताएका छन् । सचिवालय बैठकअघि पार्टी कार्यालयमा उभिएका अनेरास्ववियुका केही युवाहरूलाई उनले जवाफ दिएका हुन् ।

आज एमाले सम्बद्ध युवाहरूले नेताहरूलाई फूल दिएर सांकेतिक विरोध गरेका छन् । उनीहरूले कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलसहितका नेताहरूलाई च्यासलकाे मूलढाेकामा फूल दिएर नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने आवाज उठाएका छन् ।

प्रतिनिधि सभाको निर्वाचन, संसदीय दलको नेता चयन र हिजो प्रतिनिधि सभाको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिले गर्दा एमालेभित्र विवाद ल्याएको छ ।

बैठकमा छिर्दै गरेका कार्यवाहक अध्यक्ष बादललाई युवाहरूले आजैको सचिवालय बैठकले केन्द्रदेखि वडा तहसम्म पार्टी पुनर्गठनको निर्णय लिन आग्रह समेत गरेका छन् । पार्टी र आम कार्यकर्ताको भावना अनुसार अहिलेको कमिटी विघटन गरेर नयाँ कमिटीमा जाने निर्णय गर्नको लागि सुझाएका हुन् ।