काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्विराेध चयन भएका छन् । विपक्षी दलहरूले उम्मेदवारी नदिने भएपछि रास्वपाका अर्याल निर्विराेध चयन भएका हुन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एमराम गिरीले सभामुखका लागि रास्वपाका अर्यालकाे एकल उम्मेदवारी परेकाे बताए । उनले भने, ‘सभामुखमा निर्वाचित गरियाेस् भन्ने प्रस्तावका लागि बिहान ११ देखि दिउँसाे २ बजेसम्मकाे समय निर्धारण गरिएकाे थियाे । याे समयमा एक मात्र प्रस्ताव दर्ता हुन आएकाे छ ।’
शुक्रबार अर्यालले सभामुखका लागि मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्ता गराउन रास्वपा सभापति रवि लामिछानेसहितको टोली संसद सचिवालय पुगेको थियो । प्रस्तावक रवि लामिछाने र समर्थक स्वर्णिम वाग्ले, सुनिल लम्साल र सोविता गौतमसहितले अर्याललाई सभामुख पदमा निर्वााचित गरियाेस् भनेर प्रस्ताव दर्ता गराएका थिए ।
अहिले २ः३० बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिने कार्यसूची छ । चैत २२ गतेको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन गरिनेछ ।
प्रतिनिधिसभा निर्वाचनमा अर्याल काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका थिए ।


प्रतिक्रिया