काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गतेको घटनाको छानबिनबारे प्रश्न उठाएकी छिन् । उनले २४ गते जलाइएका सिंहदरबारलगायत घटनाको सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताइन् ।
सोमबार (चैत २३) राष्ट्रियसभा बैठकमा बोल्दै झाँक्रीले प्रश्न गरिन्, “भदौ २४ को घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ?”
“भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो ? त्यसको जिम्मा कसले लिने हो ?” उनले भनिन्, “२३ गतेको घटनाबारे केही प्रतिवेदन आए । २४ गते खण्डहर भएका सिंहदरबारजस्ता संरचना जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ?”
नवयुवालाई गलत ढंगले परिचालन गर्ने र सिंहदरबारलगायत ठाउँलाई खण्डहर बनाएकामा आफू भावविह्वल भएको बताइन् । उनले त्यस घटनाको तथ्य सार्वजनिक हुनुुपर्ने माग राखिन् । सरकारले कार्पेटमुनि धुलो राखेर सब ठीकठाक छ भनेर हिँड्ने काम गर्न नहुने पनि बताइन् ।
सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न नसकिने पनि बताइन् ।


प्रतिक्रिया