विर्तामोडमा कोशी-बंगाल पर्यटन उत्सव

विर्तामोडमा कोशी-बंगाल पर्यटन उत्सव


ग्लोब नेपाल
0
Shares

झापा । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बंगाल र बिहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताएका छन् ।

उनले विर्तामोडमा सुरु भएको दुई दिवसीय कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन गर्दै उक्त जानकारी दिएका हुन्। भारतका ती प्रान्तका बासिन्दासँग नेपालको कैयन सांस्कृतिक परम्पराहरुमा समानता रहेको जनाउँदै उनले जनस्तरसम्म आत्मिय रहेको सम्बन्धलाई अब पर्यटन क्षेत्रमा जोड्ने बेला आएको बताए ।

प्रदेश सरकारले पर्यटन क्षेत्रलाई मुलुकको दीगो आर्थिक विकासको आधारस्तम्भ मानेर मुन्धुमसहित चार वटा पदमार्गको निर्माण गरेको उनले जानकारी दिए । पश्चिम बंगाल र बिहारबाट ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको उनले बताए ।

आज सुरु भएको कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवमा नेपालका १८ वटा र भारतका १२ वटा गरी ३० वटा स्टल राखिएका छन् । होटल, घरबास, ट्राभल गाइड, हस्तकला, अर्गानिक खाद्य बस्तु लगायतका स्टलबाट पर्यटकलाई दुवै देशका पर्यटकीयस्थल र त्यहाँको विशेषता बारेमा जानकारी मिल्ने होटल संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिईन् ।

उत्सवमा सहभागी हुन भारतको पश्चिम बंगालको व्यावसायिक र सांस्कृतिक टोली यहाँ आएको छ । कलाकारहरुको टोलीले उद्घाटन कार्यक्रममा शास्त्रीय संगीतको भरत नाट्यम शैलीका रोचक नृत्यहरु प्रस्तुत गरेको थियो । ताप्लेजुङ र पाँचथर क्षेत्रका चराहरुको खोज अनुसन्धान गरेर चरा संरक्षण अभियन्ता देवेन्द्र खरेलले निर्माण गर्नुभएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कोशी प्रदेश पर्यटन वर्षसम्बन्धी निर्देशन समितिका सहसंयोजक भवेश श्रेष्ठ, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा लगायतले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रसँग सहकार्य गर्दै आएको भन्दै कोशी प्रदेश सरकारको प्रशंसा गरेका थिए ।