बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव

बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव



झापा । बुधबारदेखि यहाँ दुई दिवसीय कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव सुरु भएको छ ।

उत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले प्रदेश सरकार भारतका सीमावर्ती प्रान्त पश्चिम बङ्गाल र विहारका पर्यटकलाई आकर्षित गर्ने प्रवर्द्धनात्मक कार्यक्रममा अग्रसर रहेको बताए ।

नेपाल भारतबिच धेरै सांस्कृतिक परम्परामा समानता रहेको जनाउँदै उनले जनस्तरसम्म आत्मीय रहेको सम्बन्धलाई अब पर्यटन क्षेत्रमा जोड्ने बेला आएको बताए ।

मन्त्री पराजुलीले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई मुलुकको दिगो आर्थिक विकासको आधारस्तम्भ मानेर मुन्धुमसहित चार वटा पदमार्गको निर्माण गरेको बताए ।

उत्सवमा नेपालका १८ र भारतका १२ गरी ३० वटा स्टल राखिएका छन् । होटल, घरबास, ट्राभल गाइड, हस्तकला, अग्र्यानिक खाद्य वस्तुलगायतका स्टलबाट पर्यटकलाई दुवै देशका पर्यटकीय स्थल र त्यहाँको विशेषताबारे जानकारी मिल्ने होटल सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

उत्सवमा सहभागी हुन भारतको पश्चिम बङ्गालका व्यावसायिक र सांस्कृतिक टोली यहाँ आएका छन् ।

कार्यक्रममा चरा संरक्षण अभियन्ता देवेन्द्र खरेलले निर्माण गर्नु भएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कोशी प्रदेश पर्यटन वर्षसम्बन्धी निर्देशन समितिका सहसंयोजक भवेश श्रेष्ठ, पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडालगायतले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै आएको भन्दै प्रशंसा गरे।