न्युयोर्क । विश्व बजारमा बिहीबार कच्चा तेलको भाउ बढेको छ । अमेरिका र इरानबिच भएको नाजुक युद्धविरामलाई लिएर चिन्ता बढ्दै जाँदा तेलको मूल्य पुनः उकालो लागेको छ । एसियाली बजारमा बिहीबार बिहानको कारोबारमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको हो ।
दुई हप्ताका लागि सर्तसहित गरिएको युद्धविरामबिच इजरायलले लेबनानमा भीषण आक्रमण गरेपछि तनाव पुनः चर्किएको छ । त्यसको प्रतिक्रिया स्वरूप इरानले पनि आक्रमण जारी रहे ‘पछुतो हुने जवाफ’ दिने चेतावनी दिएको छ ।
यसअघि युद्धविराम घोषणा भएपछि तेलको मूल्य घटेको थियो । खासगरी महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने सहमति भएपछि तेलको आपूर्ति बढ्ने र भाउ सुस्ताउने आशा छ । स्ट्रेट अफ हर्मुज विश्व ऊर्जा आपूर्तिको प्रमुख केन्द्र मानिन्छ ।
यो मार्ग भएर झन्डै २० प्रतिशत कच्चा तेल विश्व बजारमा जान्छ । तर, इरानले अमेरिकी–इजरायली हवाई आक्रमणको प्रतिकारस्वरूप उक्त मार्ग प्रयोग गर्ने जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएपछि त्यहाँको यातायात अवरुद्ध भएको थियो ।
तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ बिहीबार २ दशमलव २ प्रतिशतले बढेर ९६ डलर ७० सेन्टमा पुगेको छ भने अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट पनि २ दशमलव ८ प्रतिशतले बढ्दै ब्यारेलकै ९६ डलर ९० सेन्टमा कारोबार भइरहेको छ ।
विश्लेषकहरूका अनुसार, अमेरिका–इरान सम्बन्ध अझै ‘नाजुक’ रहेकाले तेल आपूर्ति र ढुवानीमा अनिश्चितता कायम छ । ऊर्जा आपूर्ति विशेषगरी स्ट्रेट अफ हर्मुजबाट हुने ढुवानी नै आगामी दिनमा बजारको मुख्य चासो रहने बताइएको छ ।
यसैबिच केही तेल तथा ग्यास पूर्वाधारहरू क्षतिग्रस्त भएकाले पूर्ण रूपमा मर्मत हुन समय लाग्ने र त्यसले दीर्घकालीन रूपमा मूल्य उच्च नै रहने सम्भावना रहेको पनि विज्ञहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समय सीमा तोकेर युद्धविराम घोषणा गरेका थिए । उनले सम्झौता नभए ‘सम्पूर्ण सभ्यता नै नष्ट हुन सक्छ’ भन्ने चेतावनी दिएका छन् ।
युद्धविरामको एक महत्त्वपूर्ण सर्त भनेको स्ट्रेट अफ हर्मुज हुँदै जहाजहरू सुरक्षित रूपमा आवत जावत गर्न पाउनु पनि हो । तर हालको परिस्थितिले ऊर्जा बजार अझै अस्थिर रहने सङ्केत दिएको छ ।


प्रतिक्रिया