काठमाडौं । पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध मुद्दा चलाउने आधार र प्रमाण नभेटेको दाबी गरेका छन् ।
हाजिरी जमानीमा रिहा भएपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरेको आरोप लगाएका छन् । उनले प्रहरीको नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी, प्रशासन तथा स्वास्थ्य उपचारमा खटिएका सबैप्रति कृतज्ञ रहेको पनि उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मेरो रिहाइको माग गर्नेहरूमाथि चर्को दमन गरी घाइते बनाएका सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु ।’
ओलीले आफू केही दिन अझै अस्पतालमै रहने पनि जानकारी गराएका छन् । अस्पतालकाअनुसार आउँदो सोमवार उनको पित्तथैलीकाे शल्यक्रिया गर्ने तयारी छ ।


प्रतिक्रिया