काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले उपसभामुखमा सहयोगको लागि आफूहरूले सबै पार्टीसँग कुरा गरेको बताएका छन् । रास्वपाको समर्थनमा पार्टीकी सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का भएपछि उनले प्रतिपक्षमा रहेका सबै दलबाट फोन गरेर समर्थन छ भनेको बताए ।
उनले भने, ‘हामीकहाँ कुनै खेल भएको छैन । उहाँहरूले समर्थन गर्नुभएको छ । देशको पक्षमा काम गर्नको लागि पार्टीलाई यो एउटा अवसर हो ।’
उनले रास्वपासँग आफूहरूको कुनै सम्झौता नभएको बताए ।
उनले थपे, ‘देश बनाउने कुरा हो, अरू कुनै समर्थन छैन । राम्रो कामको लागि सहयोग रहन्छ, नराम्रो कामको लागि हामी रोक्छौँ। सहयोग गरेको छ भन्दैमा जे पनि हामी समर्थन गर्दैर्नौँ । देशको हितको पक्षमा छौँ पद ठुलो कुरा होइन, देशको लागि जुनसुकै बेलामा छाड्न तयार छौँ । इमानको साथ देशको काम गर्न आएका हौँ ।’
यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको नेताहरूले बताएका थिए । रास्वपाले समर्थन गर्ने भनेपछि राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् । तर, अन्तिम समयमा रास्वपाले निर्णय बदलेर श्रम संस्कृतिका उम्मेदवार ठाकुरलाई समर्थन गरेको हो ।
रास्वपाको साथ पाएपछि ठाकुर उपसभामुख बन्ने पक्का भएको छ । ठाकुरलाई कांग्रेस, एमाले र नेकपाको पनि साथ रहेको बताइएको छ ।


प्रतिक्रिया