पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम



कास्की । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको काम तिव्र रुपमा भइरहको छ । पोखराको सेती पुलदेखि तनहुँको जामुने जोड्ने यो सडकखण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ ।

सडक खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले छिटफुट बाहेकका काम निर्धारित समयमै सकिने बताए । यो खण्ड आउँदो असारसम्म सक्ने लक्ष्य छ ।

कुल ३८.७१ किलोमिटर दूरीको खण्डमा अहिलेसम्म ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ । कुल ३६.३२ किमीको सर्विस लेनमा हालसम्म १७.६६ किलोमिटर कालोपत्र भइसकेको इन्जिनियर कुँवरले जानकारी दिए । १०५ वटा कल्भर्ट निर्माण भइसकेको र नाली निर्माणको काम पनि अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । सेती पुल भने निर्माणको चरणमा छ । यस वर्षमात्र ३३.७८ किलोमिटर चार लेन सडकमा अक्सफाल्ट प्रविधिबाट दोस्रो तहको कालोपत्र भएको हो । १५.६ किलोमिटर सर्विस लेनसहित विजयपुर खोला पुल र दुईवटा कल्भर्ट निर्माण गरिएको छ ।

१२.१ किलोमिटरको चार लेन सडकमा यही वर्ष पहिलो तहको कालोपत्र गरिएको हो । अघिल्ला वर्षको तुलनामा यसवर्ष सडक निर्माणको कामले गति लिएको इन्जिनियर कुँवरले बताए ।