सेनाले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु

सेनाले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु


ग्लोब नेपाल
432
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गस्तीका क्रममा खटिएका सुरक्षाकर्मी ले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु भएको छ। बिहीबार निकुञ्जको कोर क्षेत्रमा गस्तीमा रहेको नेपाली सेनाको नयाँ गोरख गणअन्तर्गतको टोलीमाथि पोथी गैंडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो ।

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टरअन्तर्गत सेरी सुरक्षा पोष्ट क्षेत्रमा गस्ती गरिरहेको एक कमाण्डरसहित तीन सिपाहीको टोली र अर्धबयस्क बच्चासहितको गैंडाबीच जम्काभेट भएको थियो ।

सुरक्षात्मक उपाय अपनाउँदा पनि गैंडाले आक्रामक व्यवहार देखाएपछि सुरुमा १० राउण्ड हवाई फायर गरिएको थियो । त्यसपछि पनि गैंडा नहटेको भन्दै थप ४ राउण्ड हवाई फायर गरिएको र अन्ततः आक्रमण जारी रहेपछि घाइते सिपाहीको ज्यान जोगाउन थप २ राउण्ड गोली प्रहार गरिएको थापाले जानकारी दिए ।

निकुञ्ज प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार सुरक्षाकर्मीको जिउज्यान रक्षा गर्ने क्रममा चलाइएको गोली गैंडाको करङ क्षेत्रमा लाग्दा अन्दाजी २४ वर्षको पोथी गैंडाको घटनास्थलमै मृत्यु भएको हो । प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त का अनुसार पोष्टमार्टम गर्दा गैंडाको फोक्सोमा प्वाल परेको पुष्टि भएको छ ।

घटनामा गैंडाको आक्रमणबाट घाइते भएका सिपाहीलाई नेपाली सेना को हेलिकप्टरमार्फत उद्धार गरी वीरेन्द्र अस्पताल मा उपचारका लागि ल्याइएको छ । उनको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।