प्रधानमन्त्री बालेनविरुद्ध सामग्री प्रसारण गरेका युट्युबर पक्राउ

प्रधानमन्त्री बालेनविरुद्ध सामग्री प्रसारण गरेका युट्युबर पक्राउ



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सहितका नेताहरूलाई अपमानजनक र गालीगलौज गर्दै सामग्री प्रसारण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेल छन् ।

पोखरेलले आफ्नो युट्युब च्यानलमार्फत प्रधानमन्त्रीसहितका नेताहरूमाथि अपशब्द बोल्दै सामग्री प्रसारण गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध मुद्दा भने पाँचथरमा नै चलाइएको छ ।

पाँचथर प्रहरीका प्रमुख एवं डीएसपी अनिश कर्णले साइबर ब्युरोसितको समन्वयमा पोखरेललाई पक्राउ गरिएको जानकारी दिए । बिहीबार (चैत २६) साँझ उनलाई पक्राउ गरिएको डीएसपी कर्णले बताए ।