गृहमन्त्रीसँग निर्माण व्यवसायीले आयोजनाको सुरक्षा मागे

गृहमन्त्रीसँग निर्माण व्यवसायीले आयोजनाको सुरक्षा मागे



काठमाडौं । निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडकको अनुगमनमा जानुभएका गृहमन्त्री सुधन गुरुङसँग निर्माण व्यवसायीहरूले आयाेजनाकाे सुरक्षा माग गरेका छन् ।

ठेक्का लिएर साइटमा काम गर्न जाँदा अनेक बहानामा स्थानीयस्तरमा अवरोध आउने गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष सहदेव खड्काले मन्त्रीसँग देशैभरका आयोजनामा सुरक्षा माग गरेका हुन् ।

उपाध्यक्ष खड्काले निर्माणाधीन नागढुङ्गा–नौबीसे सडक खण्डमा ठेक्का लिएर काम गर्दै आइरहेका छन् । आयोजनामा अनधिकृत व्यक्तिले काम रोक्न आएको अवस्थामा सार्वजनिक मुद्दा लगाएर कारबाही गर्न उनले माग गरे । सरकारले छुट्याएको क्षेत्रबाट पर्याप्त निर्माण सामग्री उत्खनन गर्न नपाउँदा आयोजनाले लक्ष्यअनुसारको काम गर्न नसकेको खड्काको भनाइ छ ।

मन्त्री गुरुङले निर्माण आयोजनाहरूमा अनावश्यक पैसा उठाउने गरेको गुनासो आफूले विगतदेखि नै सुन्दै आएको बताए । पूर्वाधार क्षेत्रमा काम गर्ने व्यवसायीमाथिको धरपकड सह्य नहुने भन्दै मन्त्री गुरुङले त्यस्ता कार्य तत्काल रोक्न प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिए ।