आज देशका धेरै जसो ठाउँको मौसम सफा

आज देशका धेरै जसो ठाउँको मौसम सफा



काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज काठमाडौं उपत्यकासहित देशैभरको मौसम सामान्यतयाँ सफा रहेको छ ।

उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अरु ठाउँमा पनि मौसम सफा रहेको छ । तराई क्षेत्रको मौसम पनि भोलिसम्म सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही ठाउँमा दिउँसोपछि हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि ठूलो वर्षाको सम्भावना भने छैन ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ । दिउँसो भन्दा राति मौसमी गतिविधि केही सक्रिय हुने अुनमान छ ।

राति विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

यस्तै कोशी प्रदेशको पहाडी भू–भागसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली र बाँकी पहाडी भू-भागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

भोलि पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा र अन्य हिमाली भू–भागका एक/दुई ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलिसम्म हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।