काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा सबै नेपालीमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षले विगतका असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउन प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले विशेष गरी नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत राजनीतिक दलहरूलाई समयानुकूल रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छन् ।
उनले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ संकल्पसहित अघि बढ्न सबैमा आह्वान समेत गरेकी छन् ।
आफ्नो सन्देशमा उनले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गरेकी छन् । निर्वाचनमार्फत प्रकट भएको जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने उनको ठम्याइ छ । जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राखेर अघि बढ्नु नै अहिलेको राजनीतिक नेतृत्वको मुख्य दायित्व हुनुपर्ने सन्देश उनले दिएकी छन् ।


प्रतिक्रिया