पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ठूला विकास आयोजना प्रभावित

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ठूला विकास आयोजना प्रभावित



काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिममा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् ।

निर्माण व्यवसायीहरूले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताएको छ ।

सेती राजमार्गको दक्षिण खण्डको काम बन्द हुने अवस्थामा पुगेको आयोजना प्रमुख रामकुमार देवले बताए । आयोजनाअन्तर्गत डोटी, अछाम र कैलालीमा विभिन्न प्याकेजमा काम भइरहेको आयोजना प्रमुख देवले जानकारी दिए । पेट्रोलियम पदार्थ मूल्य वृद्धिपछि निर्माण व्यवसायीहरूले काम गर्न नसकिने जनाउँदै कार्यालयमा निवेदन दिन थालेका छन् ।

सुदूरपश्चिमकै गौरवको महाकाली सिँचाइ तेस्रो चरण आयोजनासमेत यसको प्रभाव परेको छ । तेह्र वटा प्याकेजमा ठेक्का भई कञ्चनपुरदेखि दार्चुलाको तिङ्करसम्मको कोरिडोरको निर्माण भइरहेको भए पनि पछिल्लो समय निर्माण व्यवसायीले महँगी बढेको जनाउँदै काम गर्न छाडेका छन् ।

महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले इन्धन, बिटुमिनलगायतका सामग्रीको भएको मूल्यवृद्धिका कारण कोरिडोरको काम प्रभावित बनेको बताए ।

४२५ किलोमिटर खण्डको उक्त कोरिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुरामा ५६, बैतडीमा १४४ र दार्चुलामा १२० किलोमिटर सडक पर्छ । दार्चुलामा ७९ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ ।

निर्माण व्यवसायीले मूल्यवृद्धि समायोजन नहुँदासम्म काम गर्न नसकिने बताउँदै सरकारलाई मूल्यवृद्धि समायोजनको माग गरेका छन् ।