सीमाबाहिर गएर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेतावनी

सीमाबाहिर गएर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेतावनी

अति भए सहन सकिन्न



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देउवा पक्षलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् ।

जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले भने, “पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन ।”

सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन उनले आग्रह गरेका छन् । उनले काठमाडौंको ३० नम्बर वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको सुरूआत गरे । त्यस क्रममा सभापति थापाले आफ्नै क्रियाशील सदस्यता पनि अद्यावधिक गरेका थिए ।

‘पार्टीका तमाम नेताहरूलाई मेरो आग्रह छ। भर्खरै नयाँ वर्षको सुरूआत हुँदैछ । सबैलाई लिएर लैजाने मेरो कुरा हो। अब धेरै खिचपिच नगर्न सबैलाई अनुरोध गर्छु । मैले दौडाएर पार्टीलाई अगाडि लैजानु पर्नेछ । अधिवेशन सम्पन्न गराउनु पर्नेछ । नयाँ निर्वाचनका लागि देशलाई तयार पार्नु पर्नेछ । प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्नसक्ने पार्टी बनाउनु पर्नेछ,’ उनले भने, ‘यसमा सबैको सहयोग चाहिएको छ । कृपया सक्नेले मलाई सहयोग गर्नुहोला। नसक्नेले मलाई डिस्टर्ब नगरिदिनुहोला । पार्टीको कार्यालयभन्दा बाहिर हुने अनधिकृत गतिविधिहरूको सीमा हुन्छ, सीमाभन्दा बाहिर गए सहनसक्ने कुरा हुन्न ।’

उनले आफू नेतृत्वमा रहेकाले पार्टीलाई मिलाएर लैजान सबै पक्षसँग विनम्र र लचिलो हुने बताएका छन् । तर आफ्नो विनम्रता र लचकतालाई कमजोरी नठान्न पनि उनले अनुरोध गरेका छन् ।

‘म पार्टीको जिम्मेवारीमा छु, जिम्मेवारीमा भएको व्यक्ति बढी विनम्र हुनुपर्छ, बढी लचिलो हुनुपर्छ । उसैले संवाद गर्नुपर्छ। यो कुरा मैले पार्टीका नेताहरूबाट सिकेको छु । त्यसैले म सकेसम्म साथीहरूलाई भेट्छु, सिकेका कुरा बुझाउने कोसिस गर्छु। सबैलाई समेटेर जान्छु । तर समेटेर लैजाँदै गर्दा मैले राख्ने लचकता र विनम्रतालाई कृपा गरेर मेरो कमजोरी नठानिदिनुहोला । म पनि पार्टीको विधानले बाँधिएको छु,’ उनले भने ।

नेपाली कांग्रेसले प्रतिपक्षीको भूमिका रचनात्मक ढंगले निर्वाह गर्ने पनि उनले उल्लेख गरे ।