काठमाडौं । मध्यपूर्व युद्धका बाबजुद चीनको आर्थिक वृद्धि अपेक्षाभन्दा राम्राे देखिएको छ । विश्वभरका देशहरूले इरान र अमेरिका–इजरायल युद्धको प्रभाव महसुस गरे पनि यस वर्षको पहिलो तीन महिनामा चीनको आर्थिक वृद्धि ५ प्रतिशत देखिएको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अर्थशास्त्रीहरूले आर्थिक वृद्धि ४ दशमलव ८ प्रतिशत हाराहारी हुने अनुमान गरेका थिए । मध्यपूर्वमा गएको फेब्रुअरी २८ मा शुरू भएको युद्धले विश्वव्यापी ऊर्जा आपूर्तिलाई गम्भीर रूपमा अवरुद्ध पारेको छ जसमा एशियाली देशहरू विशेषगरी नराम्ररी प्रभावित भएका छन् ।
चीनले यस वर्ष समग्र आर्थिक वृद्धि साढे ४ देखि ५ प्रतिशत हुने अनुमान गरेको छ । यो अनुमान सन् १९९१ पछिको सबैभन्दा कम हो ।
सत्तारूढ कम्युनिस्ट पार्टीले कमजोर उपभोग, घट्दो जनसङ्ख्या र लामो समयदेखि सम्पत्ति सङ्कटलगायत धेरै समस्याहरूसँग सङ्घर्ष गरिरहेको देशको अर्थतन्त्रलाई पुनः आकार दिन खोजिरहेको छ ।
चीनले नवप्रवर्तन, उच्च–प्रविधि उद्योग र घरेलु खर्च बढाउने प्रयासहरूमा ठूलो लगानी गर्ने वाचा पनि गरेको छ ।
मध्यपूर्व युद्धबाट नराम्ररी प्रभावित जापान र दक्षिण कोरियाजस्ता अन्य प्रमुख एशियाली देशहरूको तुलनामा चीन खाडीको तेलमा कम निर्भर छ । तर इन्धनको मूल्य बढेपछि केही चिनियाँ एअरलाइन्सले उडानहरू कटौती गरेका छन् ।
मध्यपूर्व युद्धले निम्त्याएको मूल्यवृद्धिका कारण विश्वभरका उपभोक्ताहरू खर्च गर्न कम इच्छुक भएमा चीनको निर्यातलाई असर गर्न सक्ने अस्ट्रेलियन नेशनल युनिभर्सिटीका अर्थशास्त्रका व्याख्याता यिक्सियाओ झोउले बताएका छन् ।
चीनले मध्यपूर्व युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिहरूसहित विश्वव्यापी व्यापार तनावका कारण ऊर्जा सङ्कटको सामना गरिरहेको छ ।


प्रतिक्रिया