काठमाडौँ । सेयर बजारमा बिहीबार सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से ६.९४ अंकले बढ्दै २७१८ विन्दुमा पुगेको छ । दिनभरको कारोबार अवधिमा यही स्तर नै उच्च बिन्दुका रूपमा कायम रह्यो ।
पछिल्ला केही दिनयता बजारमा उतारचढाव कम हुँदै आएको देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार नेप्से १.६४ अंकले घटेको थियो भने मंगलबार ८ अंकको वृद्धि भएको थियो ।
कारोबार रकम भने निरन्तर घट्दै ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ । बिहीबार कुल २ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन गत फागुन २५ यताकै न्यून कारोबार रकम हो । सो दिन सर्किट ब्रेकर लागेकाले कारोबार रकम प्रभावित भएको थियो ।
यसअघि अघिल्लो दिन ३ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्ला दिनहरूमा कारोबार रकम घट्ने प्रवृत्ति देखिँदै आएको बजार तथ्यांकले देखाएको छ । बजारमा समग्रमा १५५ कम्पनीका सेयर मूल्य बढेका छन् भने १०२ कम्पनीका मूल्य घटेका छन् ।


प्रतिक्रिया