काठमाडौँ । इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक सम्बन्धी घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ ।
घटनाको अनुसन्धानका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका डीआईजी दिनेशकुमार आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । सो समितिले तयार पारेको प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयमा समेत पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
प्रतिवेदन अनुसार इलाका प्रहरी कार्यालय खुर्कोटका तत्कालीन इन्सपेक्टर बसन्त भुजेल र हिरासत ड्युटीमा रहेका प्रहरी जवान अर्जुन सिंहमाथि विभागीय कारबाही सिफारिस गरिएको छ । सिफारिस अनुसार इन्सपेक्टर भुजेललाई खुर्कोटबाट सरुवा गरी बागमती प्रदेश कार्यालयमा सरुवा गरिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर विमल खतिवडालाई खुर्कोटमा नयाँ जिम्मेवारी दिइएको छ । त्यस्तै, त्यहाँ कार्यरत अन्य १० जना प्रहरी कर्मचारीलाई सचेत गराउने र ध्यानाकर्षण गराउने व्यवस्था गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।
हिरासतभित्रै मृत फेला परेका विकको घटनापछि प्रारम्भिक अनुसन्धान गर्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो । प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले ११ वैशाखमा समिति गठन गरेका थिए ।


प्रतिक्रिया