इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुनसरी जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । लौकही सिटी हलमा शनिबार आयोजित अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको हो । असन्तुष्ट पक्षले आफूहरुलाई पेलेर जान खोजेको भन्दै विवाद गरेको थियो । केही जेनजी युवालाई प्रतिनिधिबाटै हटाएर निर्वाचन प्रक्रिया अघि बढेपछि सुरु भएको विवादले हात हालाहालको अवस्था उत्पन्न भएको हो ।
सभापतिमा दाहाल
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । उनले १४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए ।
उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरिन् । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका थिए ।
यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २०९, राजकुमारी मेहता १६९, धर्मवीरकुमार आर्य ११२, रेणुका हरिजन १०९ तथा गोकुल थापा १०७ मतसहित निर्वाचित भएका छन् ।


प्रतिक्रिया