अर्थमन्त्री डा. वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंकका अध्यक्षसँग भेटवार्ता गर्ने


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। भ्रमणका क्रममा उनले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।

गएराति अमेरिका पुगेका अर्थमन्त्री वाग्लेलाई वासिङ्टन डी.सी.मा कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका पदाधिकारीहरूले स्वागत गरेका थिए।

सोमबार दुई महत्त्वपूर्ण भेटवार्ता
अर्थमन्त्री वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री एवं सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बंगासँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

भेटवार्तामा नेपालसँगको द्विपक्षीय आर्थिक सहयोग विस्तार, पुनर्निर्माण, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्ने प्रयास तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने जनाइएको छ।

भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा सहायता जुटाउने पहल
भ्रमणका क्रममा हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालनको विषयलाई पनि प्राथमिकताका साथ उठाइनेछ।

बाढीपछिको पुनर्निर्माणसँगै उत्थानशील विकासका लागि आवश्यक सहयोग जुटाउने विषयमा विश्व बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम छ।

विशेष गरी सडक, विद्युत् प्रसारण लाइनलगायत महत्त्वपूर्ण पूर्वाधारमा विकास साझेदार र निजी क्षेत्रको लगानी बढाउँदै मुलुकभित्र रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने पहल भ्रमणको प्रमुख उद्देश्य रहेको छ।

डीएफसी र निजी क्षेत्रका लगानीकर्तासँग पनि छलफल
अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीसँग पनि भेटवार्ता गर्नेछन्।

त्यसैगरी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग उच्चस्तरीय भेटवार्ता गरी नेपालमा लगानी विस्तारको सम्भावना र अवसरबारे छलफल गर्ने कार्यक्रम रहेको छ।