एनभिडियाको सञ्चालक समितिले हिजो सोमबार जेन्सेन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बहाल गरेको जानकारी दिएको छ।
अमेरिकी गुप्तचर निकायले चीनका लागि जासुसी गरेको शङ्का गरेकी एक महिलासँगको सम्बन्धको विवादपछि हुआङले राजीनामा दिएको दुई साता नपुग्दै यो निर्णय आएको हो। चीनले भने उक्त आरोप अस्वीकार गरेको छ। ‘द न्युयोर्क टाइम्स’ को एक रिपोर्टअनुसार हुआङको एनभिडियाकै एक मातहतकी कर्मचारीसँग पनि विवाहेतर सम्बन्ध रहेको थियो।
सञ्चालक समितिका अध्यक्ष हार्भे सी. जोन्सले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सञ्चालक समितिको विश्वास छ कि एनभिडियाको नेतृत्व गर्न जेन्सेन नै सही व्यक्ति हुन्, र उनलाई पुनः नियुक्त गर्नु हाम्रा सेयरधनी, कर्मचारी, साझेदार र ग्राहकको सर्वोत्तम हितमा छ।”
कम्पनीले थप भनेको छ, “निर्णयमा पुग्ने क्रममा सञ्चालक समितिले अमेरिकी सरकारका उच्च तहबाट सुझाव लिएको थियो, र सोही सुझावका आधारमा श्री हुआङको पुनरागमनले कुनै राष्ट्रिय सुरक्षा जोखिम ननिम्त्याउनेमा समिति विश्वस्त छ।”
राजीनामा दिएको एघार दिनपछि हुआङले एक विज्ञप्ति जारी गर्दै “नयाँ औद्योगिक क्रान्तिको सुरुवातमा विश्वकै सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीमध्ये एकको नेतृत्व गर्दै एनभिडियामा फर्कन पाउँदा आफू सम्मानित महसुस गरिरहेको” बताएका छन्। उनले कम्पनीको सञ्चालक समिति, अन्तरिम सीईओ कोलेट क्रेस, एनभिडियाका कर्मचारी र सेयरधनीहरूलाई धन्यवाद पनि दिए।
हुवाङले थपे, “म छिट्टै काममा फर्कन आतुर छु।”
हुवाङलाई पुनः जिम्मेवारीमा फर्काउने निर्णय निकै आश्चर्यजनक रूपमा आएको छ। गत साता कम्पनीको आम्दानीसम्बन्धी बैठकमा जोन्सले कम्पनीको “जेन्सेनलाई सीईओमा पुनः बहाल गर्ने कुनै मनसाय नरहेको” बताएका थिए।
चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्बन्ध रहेको ठानिएकी महिलासँग हुआङको सम्बन्धले चीनमा एनभिडियाको व्यवसायमाथि गम्भीर ध्यान तानेको छ। अमेरिकी निर्यात नियमको उल्लङ्घन गर्दै कम्पनीका एआई चिप्स चीन पुगिरहेका त छैनन् भनी सांसदहरूले प्रश्न उठाइरहेका छन्।
उनको पुनरागमनका लागि दबाब
सन् १९९३ मा आफूले सह-स्थापना गरेको चिप कम्पनीमा फर्कन आफू उत्सुक रहेको कुरा हुआङले गत साता जोड दिएका थिए। उनले भनेका थिए, “यदि सञ्चालक समितिले मेरो फिर्ती हाम्रा सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको सर्वोत्तम हितमा छ भन्ने ठान्छ भने म ती आह्वानको सम्मान गर्दै सीईओका रूपमा फर्कन तयार छु।”
धेरै व्यावसायिक अगुवा र एनभिडियाका हजारौँ कर्मचारीहरूले हुआङलाई पुनः नियुक्त गर्न माग गर्दै हस्ताक्षर अभियान (पेटिसन) चलाएका थिए। राष्ट्रपति ट्रम्पले पनि उनको पुनरागमनलाई समर्थन गर्ने सङ्केत दिएका थिए। गत साता ट्रम्पले भनेका थिए, “त्यस्तो भएको देख्दा मलाई कुनै आपत्ति हुने छैन।”
सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले एनभिडियाको कदमको स्वागत गरे।
ट्रुथ सोसलमा ट्रम्पले लेखे, “एनभिडियाको सञ्चालक समितिले जेन्सेन हुआङलाई सीईओ पदमा फर्काउने सही र उचित निर्णय गरेको छ। कम्पनीको मात्र होइन, अमेरिकी अर्थतन्त्रको सफलता र समृद्धि सुनिश्चित गर्न देशलाई एनभिडियामा जेन्सेनको नेतृत्व आवश्यक छ। जेन्सेनको एनभिडियामा फिर्तीले राष्ट्रिय सुरक्षामा कुनै जोखिम निम्त्याउँछ भन्ने विश्वास गर्ने कुनै आधार अमेरिकी सरकारसँग छैन।”
हुवाङको पुनरागमनबारे आफूले एनभिडियाको सञ्चालक समितिसँग सिधै कुराकानी गरेको पनि ट्रम्पले सीएनबीसीलाई बताए।
कम्पनीका लागि विकल्पबिहीन
योर्कभिल आइभ्सका प्रविधि विश्लेषक ड्यान आइभ्सले सीबीएस न्युजसँग कुरा गर्दै सञ्चालक समितिले हुआङलाई सीईओमा फर्काउनुको “अर्को विकल्प नभएको” बताए। यसै महिनाको सुरुमा उनको आकस्मिक राजीनामा “आर्थिक र विश्व बजारको मुद्दा” बन्दै गएको उनको भनाइ थियो।
एनभिडियाले एआई सञ्चालन गर्न सघाउने उन्नत चिप्स तथा अन्य सामग्री बनाउँछ, जसले अमेरिकाको आर्थिक वृद्धिमा टेवा पुर्याइरहेको छ र केही समयअघिसम्म सेयर बजारमा कीर्तिमानी वृद्धि गराइरहेको थियो।
आइभ्सले भने, “एनभिडिया विश्व अर्थतन्त्रको मुख्य आधार हो।”
लगानी सल्लाहकार डी.ए. डेभिडसनका प्रमुख प्रविधि विश्लेषक गिल लुरियाले हुआङलाई पुनः बहाल गर्ने एनभिडिया सञ्चालक समितिको निर्णय उल्टिनुको कारण ह्वाइट हाउसको दबाबलाई माने।
लुरियाले सीबीएस न्युजलाई भने, “समग्र अर्थतन्त्रको अवस्था र एआई लगानी चक्रलाई निरन्तरता दिने अमेरिकाको क्षमताप्रति निकै चिन्ता छ, जुन गत साता सेयर बजारमा आएको गिरावटले झनै प्रस्ट पारेको छ। त्यसैले अर्थतन्त्रलाई अगाडि बढाउन ह्वाइट हाउस उनलाई पुनः सोही स्थानमा फर्काउन चाहन्थ्यो।”
हुवाङको पुनरागमनको समाचारसँगै एनभिडियाको सेयर मूल्य ३० प्रतिशतभन्दा बढीले उकालो लाग्यो। शुक्रबारको तीव्र बिक्री चापपछिको प्रारम्भिक कारोबारमा नास्डाक कम्पोजिट इन्डेक्सले आफ्ना सबै घाटा पूर्ति गर्दै यो खबरले अन्य सेयरहरूलाई पनि उकास्यो।
एनभिडियालाई पछ्याउने वाल स्ट्रिटका अन्य विश्लेषकहरूले कम्पनीको यो अचानकको परिवर्तनप्रति आश्चर्य व्यक्त गरे पनि यस कार्यकारीको पुनरागमनले कम्पनी र समग्र एआई क्षेत्रलाई बलियो बनाउने बताएका छन्।
भाइटल नलेजका एडम क्रिसाफुलीले लगानीकर्ताहरूलाई पठाएको एक प्रतिवेदनमा भने, “जेन्सेन एक अद्वितीय सीईओ थिए जसले एनभिडियालाई एआईको महाशक्ति बनाए र अत्यन्तै समतल कर्पोरेट संरचना कायम राखे, जसका कारण उनको विकल्प खोज्न कठिन थियो।”
हुवाङको नेतृत्वमा एनभिडिया प्रविधिगत दक्षताका कारण मात्र नभई उन्नत चिप्स खरिदमा वित्तीय सहयोग गर्ने र आफ्ना उत्पादनको माग बढाउन विभिन्न सम्झौता गर्ने भूमिकाका कारण पनि बढ्दो एआई उद्योगको एक प्रमुख खम्बाका रूपमा स्थापित भएको छ।


प्रतिक्रिया