स्वास्थ्य नाजुक भएपछि डा. गोविन्द केसीलाई काठमाडौं लगियो

स्वास्थ्य नाजुक भएपछि डा. गोविन्द केसीलाई काठमाडौं लगियो


ग्लोब नेपाल
0
Shares

इलाम । सत्याग्रहमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। उनलाई थप उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पुर्‍याइएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार साँझदेखि इलाम अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रिँदै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको इलाम अस्पतालले जनाएको छ।

इलाम अस्पतालका चिकित्सक डा. अभिताभ ठाकुरका अनुसार डा. केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम देखिएको छ भने पिसाबमा एसिटोनको मात्रा बढेको छ। स्वास्थ्य अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएपछि उनलाई काठमाडौं पठाइएको डा. ठाकुरले जानकारी दिए।

‘अस्पताल ल्याएदेखि नै डा. केसीको अवस्था निरन्तर बिग्रिरहेको छ,’ डा. ठाकुरले भने।

चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझ इलामस्थित नारायणस्थान मन्दिर परिसरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए। उनले चिकित्सा क्षेत्र सुधारसम्बन्धी छ बुँदे माग अघि सार्दै सत्याग्रह थालेका हुन्।