पार्टीको आधिकारिकता विवादमा सुको लेनदेन भएको छैन : गगन थापा

पार्टीको आधिकारिकता विवादमा सुको लेनदेन भएको छैन : गगन थापा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन नभएको दाबी गरेका छन्। बिचौलियाका रूपमा चर्चामा रहेका इनम सापकोटाको भनिएको अडियो सार्वजनिक भएपछि थापाले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका हुन्।

थापाले पार्टीभित्रको रूपान्तरण र आधिकारिकताका लागि गरिएको संघर्ष कार्यकर्ताको राजनीतिक विद्रोह भएको उल्लेख गर्दै त्यसलाई आर्थिक लेनदेनसँग जोड्नु निराधार रहेको बताएका छन्।

‘पार्टीको आधिकारिकताको राजनीतिक-कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन र अनुचित काम भएको छैन,’ थापाले भनेका छन्।

प्रहरी हिरासतमा रहेका सापकोटाको भनिएको अडियोमा आफ्नो नाम कसरी जोडियो भन्नेबारे आफू अनभिज्ञ रहेको थापाको भनाइ छ। उनले आफू कुनै गलत वा अनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट पारेका छन्।

सार्वजनिक अडियोको स्रोत, प्रामाणिकता र त्यसमा समेटिएका विषयवस्तुको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा थापाले जोड दिएका छन्। अडियो कसले, कहिले र कुन परिस्थितिमा तयार पारेको हो भन्ने विषय छानबिनबाटै स्पष्ट हुनुपर्ने उनको भनाइ छ।

यसअघि सार्वजनिक भएको अडियोमा काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद मिलाउन १८ करोड रुपैयाँको आर्थिक चलखेल भएको दाबी गरिएको थियो। यद्यपि, उक्त अडियोको प्रामाणिकता तथा त्यसमा उल्लेखित आर्थिक लेनदेनको आरोप स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

थापाले काँग्रेस सबै प्रकारका निष्पक्ष अनुसन्धानका लागि तयार रहेको बताएका छन्। यस विषयमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले समेत आरोपको खण्डन गर्दै स्वतन्त्र छानबिनको माग गरिसकेका छन्।

अडियो प्रकरणपछि आफू डराएर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाटमा सक्रिय भएको भन्ने चर्चासमेत थापाले अस्वीकार गरेका छन्। ‘म तर्सिने जिनिस नै होइन, तर्सिने बानी नै छैन,’ उनले भनेका छन्।

सापकोटाको भनिएको अडियो सार्वजनिक भएपछि काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनः चर्चामा आएको छ। यस प्रकरणमा उठेका आरोपहरूको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धानको मागसमेत भइरहेको छ।