भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीलाई विमानस्थलमा क–कसले स्वागत गरे ?

भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्रीलाई विमानस्थलमा क–कसले स्वागत गरे ?


ग्लोब नेपाल
81
Shares

काठमाडौं । भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्रीदेखि विदेशमन्त्री र राज्यमन्त्रीसम्म विमानस्थल पुग्ने गरेका छन् । तर, नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री आफैँ विमानस्थल पुगेर स्वागत गरेको उल्लेखनीय घटना भने २०६३ जेठको हो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह आफैँ नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए ।

२०६३ जेठ २३ देखि २६ गतेसम्म भएको कोइरालाको भारत भ्रमणलाई तत्कालीन राजनीतिक परिस्थितिका कारण विशेष महत्त्वका साथ हेरिएको थियो । २०६२-६३ को जनआन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको थियो । प्रतिनिधिसभा पुनःस्थापना र लोकतान्त्रिक प्रक्रिया अघि बढाउने क्रममा कोइराला प्रधानमन्त्री बनेका थिए ।

नेपालमा शान्ति प्रक्रिया अघि बढिरहेको र माओवादी द्वन्द्व अन्त्यका लागि राजनीतिक सहमति निर्माणको प्रयास भइरहेका बेला भएको उनको भारत भ्रमणलाई नयाँदिल्लीले उच्च प्राथमिकता दिएको थियो । भारतीय प्रधानमन्त्री आफैँ विमानस्थल पुगेर स्वागत गर्नु त्यसैको संकेत थियो ।

त्यसपछिका भारत भ्रमणमा भने नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री विमानस्थल पुगेका छैनन् । विभिन्न समयमा विदेशमन्त्री, गृहमन्त्री, राज्यमन्त्री तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका छन् ।

२०६५ भदौ २९ देखि असोज २ गतेसम्म भारत भ्रमणमा गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय गृह राज्यमन्त्री शकील अहमद र विदेश सचिव शिवशंकर मेननले स्वागत गरेका थिए ।

त्यसैगरी २०६६ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री माधवकुमार नेपाललाई विदेश राज्यमन्त्री परनीत कौरले स्वागत गरेकी थिइन् ।

२०६८ कात्तिक ३ देखि ६ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वागतमा भारतीय विदेश मन्त्रालयकी प्रमुख शिष्टाचार अधिकारी रुचिरा कम्बोज र नेपालका लागि तत्कालीन भारतीय राजदूत जयन्त प्रसाद विमानस्थल पुगेका थिए ।

२०७२ फागुन ७ देखि १२ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीलाई तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । दोश्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि २०७३ भदौ ३० देखि असोज २ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्लाई पनि स्वराजले नै स्वागत गरेकी थिइन्।

२०७४ भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि तत्कालीन विदेशमन्त्री स्वराजले स्वागत गरेकी थिइन् ।

त्यसपछि २०७४ चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री ओलीलाई तत्कालीन गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका थिए ।

२०७८ चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय पर्यटन तथा रक्षाराज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

तेश्रो कार्यकालमा २०८० जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको दुईदिने भ्रमणमा जाँदैछन् । उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको यो भ्रमण प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण हो ।