महेन्द्रनगरमा प्रशासनले लगायो निषेधाज्ञा

महेन्द्रनगरमा प्रशासनले लगायो निषेधाज्ञा



दोधारा चाँदनी (कञ्चनपुर) । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि सात दिनसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । महेन्द्रनगरस्थित महेन्द्र स्मारकमा महेन्द्रको सालिक पुनःस्थापनाका विषयमा भएको विवादपछि कार्यालयले सो क्षेत्रमा आज विहानदेखि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले संविधान चोकबाट पूर्व दशरथ चन्दको सालिकसम्मको मुख्य सडक र पश्चिमतर्फ मदन भण्डारीको सालिकसम्मको मुख्य सडक क्षेत्रमा सात दिनसम्म पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन जस्ता आन्दोलन गर्न निषेध गरेको हो । “सालिक पुनःस्थापान गर्ने वा नगर्ने विषयमा राजनीतिक दलबीच मतभेद देखियो”, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले भने, “सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम गर्न निषेधाज्ञा जारी गरिएको हो ।”

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो । तर कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

यसअघि शहीद भीमदत्त पन्तको सालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिव सहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए ।