काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको एक वर्षे समीक्षास्वरूप प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेको जानकारी दिइन् ।
“सरकारको एक वर्ष पुग्दै छ । यसको समीक्षास्वरूप प्रधानमन्त्रीज्यूले १० गतेको वरिपरि सम्बोधन गर्ने कुरा छ,” उनले भनिन्, “त्यो सम्बोधनमा हाम्रो सीमा समस्या हामीले गर्न सकेका/नसकेका विषयमा चर्चा हुने छ ।”
उनले सरकारको प्राथमिकता समृद्धि, सुरक्षा कायम गर्ने र सुशासन कायम गर्ने नै रहेको बताइन् ।
“अवैधरूपमा सुनहरू आएका छन्, यसमा हामीले कानुनबमोजिम दण्ड गर्यौँ । तर, सधैँभरि यस्तो रहँदैन,” उनले भनिन्, “सरकार अविचलितरूपमा आफ्नो उद्देश्यमा केन्द्रित छ । कामहरू गर्दै जाँदा कुनै बेला आक्रामक वा कुनै बेला नियमित देखिन्छ ।”
शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । उनले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।
‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन, आवश्यकता अनुसार त्यस्तो हुनै हुँदैन भन्ने होइन, तर अहिले त्यस्तो छलफल भएको छैन’ उनले भनिन् ।
मन्त्रिपरिषद्ले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीतिलाई स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ ।
मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने पनि निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।



प्रतिक्रिया