अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गाजा युद्धमा सावधानी अपनाउन अमेरिकाले इजरायलसँग कुरा गरेको बताउनुभएको छ । तेल अवीवमा बोल्दै अस्टिनले इजरायललाई अमेरिकी समर्थन रहेको पुनः दोहोर्याउनु भएको छ ।
हमासद्वारा सञ्चालित गाजाका स्वास्थ्य अधिकारीहरूले जबलियामा इजरायली हवाई आक्रमणमा १ सय १० जनाको ज्यान गएको बताएपछि उहाँले सो कुरा बताउनु भएको हो ।
इजरायलले भने यस विषयमा कुनै टिप्पणी गरेको छैन । ईजरायलका रक्षामन्त्री योभ ग्यालान्टले हमासमाथि इजरायलको आक्रमण गाजाका जनता विरुद्धको युद्ध होइन भन्दै आफूहरुले अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्ने बताउनु भएको छ ।
हमासका अधिकारी ओसामा हमदानले आफूहरु बन्दी आदानप्रदानका लागि तयार रहेको र मध्यस्थकर्ता कतार र इजिप्टले अघि सारेका पहलहरूको समीक्षा गरिने बताउनु भएको छ । यता संयुक्त राष्ट्र सुरक्षा परिषदले युद्ध रोक्न आह्वान गर्ने नयाँ प्रस्तावमा आज मतदान गर्दैछ ।
यसैबीच हिजो प्यालेस्टिनी समूहको सशस्त्र शाखाले तीन जना वृद्ध व्यक्तिहरुको एक मिनेटको भिडियो सार्वजनिक गरेको छ । उनीहरु ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८४ वर्षीय अमिरम कूपर रहेको इजरायली अधिकारीहरूले पहिचान गरेका छन् ।
उनीहरुले इजरायललाई आफूहरुको सुरक्षित रिहाइका लागि आह्वान गरेका छन् । अक्टोबर ७ यता इजरायली हमलामा कम्तीमा १९ हजार ४ सय ५३ प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणबाट १२ सय जना इजरायली मारिएका छन् भने २ सय ४० जनालाई बन्धक बनाएको थियो ।
प्रतिक्रिया