सिमेन्टको मूल्य एकैपटक २५ प्रतिशतले वृद्धि

सिमेन्टको मूल्य एकैपटक २५ प्रतिशतले वृद्धि



काठमाडौं । सिमेन्टको मूल्य प्रति बोरा एकैपटक २५ प्रतिशतले वृद्धि भएको छ । डिसेम्बर १५ पछि केही उद्योगहरुले वृद्धि गरेका हुन् । सिमेन्ट अहिले जति मूल्यमा बिक्री भइरहेको थियो, त्यसमा सय रुपैयाँ वृद्धि भएको हो । यसैगरी ढुवानीमा पनि प्रति बोरा १५ रुपैयाँ वृद्धि भएको छ ।

सिमेन्टमा प्रयोग हुने इन्धनलगायत अन्य कच्चा पदार्थको मूल्य वृद्धि भएको छैन । तर पनि केही उद्योगले एक्कासि २५ प्रतिशतसम्म मूल्य वृद्धि गरेको निर्माण व्यवसायी प्रमोद कार्कीले बताए । ४ सय ४० मा बिक्री भइरहेको ह्वाङ्सी सिमेन्ट डिसेम्बर १५ पछि ५ सय ४० रुपैयाँ मूल्य राखिएको छ ।

बजार चलायमान हुन थालेपछि सिमेन्ट कम्पनीहरुले मूल्य वृद्धि गरेको बताइएको छ । अहिले पनि उद्योगीले सय रुपैयाँ नोक्सानीमा सिमेन्ट बेचिरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । यद्यपि मूल्य वृद्धिमा संघको कुनै संलग्न नरहने उनले स्पष्ट पारे ।

माग र आपूर्तिको सन्तुलन मिलाउन पनि मूल्य वृद्धि गरिएको दाबी अध्यक्ष थापाले गरे । उनका अनुसार उद्योग नै धरासाही हुने अवस्थामा पुगेको छ । ६५ उद्योगमध्ये २० वटा उद्योग बन्द अवस्थामा छ । उनले भने, ‘यही परिवेश रहने हो भने आउँदो असारसम्म थप २० वटा उद्योग बन्द हुनसक्छ ।’

निर्माण उद्योग नै विषम अवस्थामा रहेको समयमा सिमेन्ट उत्पादनसँग सम्बन्धित इन्धनलगायत कुनै पनि कच्चा पदार्थको समेत मूल्यवृद्धि नहुँदा र सिमेन्ट लगायतका निर्माण सामाग्रीको प्रयोग पनि अत्यन्त न्यून भएको बखत हठात् सीमित सिमेन्ट उद्योगीहरुले कार्टेलिङ गरी मूल्यवृद्धि गरेको आरोप नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बताएका छन् ।

एक्कासि मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताइएको छ । सिमेन्ट र ढुवानीको मूल्यवृद्धिले देशको अर्थतन्त्र नै तरंगीत हुने भएकाले राज्यले नै यसलाई नियमन गर्नुपर्ने जानकारहरु बताउँछन् । सिमेन्ट र ढुवानीको मूल्यवृद्धिसँगै निर्माणसँग जोडिए अन्य सामाग्रीको पनि मूल्य वृद्धि हुने सम्भावना त्यत्तिकै छ ।