काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीभित्र एकलौटी गरेको भन्दै संस्थापन इतर समूहले विरोध जनाएको छ । मधेश सम्मेलन स्थलमा नै उनीहरूले ब्यानर बोकेर विरोध गरेका छन् ।
उनीहरूले सम्मेलन स्थलमै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा उनीहरूले यादवले सम्हालेको मन्त्रालयमा पनि अनियमितता भएको आरोप लगाएका छन् । यादव मधेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीसमेत छन् ।
ज्ञापनपत्र भनिएको छ, ‘कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले पार्टीहितका लागि विचार राख्नेलाई बेवास्ता गरी पार्टी संगठन एकलौटी रुपमा सञ्चालन गरी ध्वस्त बनाइरहेको जानकारी गराउन चाहन्छु ।’
‘केन्द्रीय सभापतिज्यूले आफैँ अग्रसरता लिई पार्टीको मधेश कार्यसमितिलाई विधानअनुरुप सञ्चालन र मधेश सरकारमा भइरहेको अनियमिततालगायत समस्या समाधानका लागि अनुरोध छ । मधेश कार्यसमिति र सरकारमा देखिएको अराजकताले प्रदेशमा पार्टी नै सिद्धिने चिन्ताले नेता तथा कार्यकर्ता पिरोलिएका छन्,’ ज्ञापन पत्रमा उल्लेख छ ।
सम्मेलनलाई नेता शेखर कोइराला र उनी पक्षधर नेताहरुले बहिष्कार गरेका हुन् । देउवा निकट नै मानिने प्रभावशाली नेता बिमलेन्द्र निधी पनि मञ्च बहिष्कार गरेर दर्शकदिर्घामै बसे । कांग्रेस पूर्व उपभापति समेत रहेका उनले पनि आसनग्रहणको मर्यादाक्रममै असन्तुष्ट बने ।
सभापति देउवालाई बुझाएको ज्ञापनपत्रमा शेखर समूहमा रहेका कांग्रेस मधेश प्रदेशका पूर्व सांसदद्वय रञ्जित कर्ण र नरेशकुमार यादव, महासमिति सदस्य विनोद खनाल लगायतका नेताको हस्ताक्षर छ ।
प्रतिक्रिया