इतिहासमा फर्किन सकिँदैन : सभापति देउवा

इतिहासमा फर्किन सकिँदैन : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासमा फर्किन नसकिने बताएका छन् । उनले अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने बताएका हुन् । गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएपनि अब इतिहासमा फर्किने सम्भावना नरहेको देउवाको भनाइ छ ।

सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको सन्दर्भमा आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित विमर्श सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई किसुनजीले देखाएको बाटोमा अघि बढाउन सके पछाडि फर्किएर हेर्नु नपर्ने बताए ।

‘अहिले हामीले लामो समयसम्म संघर्ष गरेर प्राप्त गरेको गणतन्त्रलाई कमजोर बनाउने कुराहरू आइरहेका छन् । यी सबै कुराहरूलाई परास्त गरेर अघि बढ्नुपर्नेछ,’ देउवाले भने, ‘हामी अब इतिहासमा फर्किन सकिँदैन, लोकतन्त्रलाई सुदृढीकरण गर्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’

देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईसँग पहिलो पटक २०२४ सालमा नख्खु जेलमा भेट भएको स्मरण गर्दै सभापति देउवाले भने, ‘किसुनजी लोभ नभएको मान्छे हो । मैले पहिलो पटक उहाँलाई नख्खु जेलमा भेटेको थिएँ, विद्यार्थी आन्दोलनका बेला २०२४ सालमा । अत्यन्तै सेन्स अफ ह्युमर भएको मान्छे हुनुहुन्थ्यो । उहाँमाथि कुनै दाग छैन, उहाँ सच्चा मानेमा त्यागी नेता हो । उहाँको विषयमा जति बोले पनि कम हुन्छ जस्तो लाग्छ ।’

देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखे ।

नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गरेकाे निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गरे ।

उनले अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गरेकाे बताए ।

“किसुनजीले कसैप्रति दुर्भाव राखेको पाइएन । पार्टी सभापति रहेका अवस्थामा चुनाव हार्दा पनि कसैलाई आरोपित गर्नुभएन, आफू अपमानित भएर पनि पार्टीलाई विभाजन हुनबाट रोक्नुभएको थियो, उहाँले आध्यात्मिक, भौतिक, प्रशासनिक तथा निष्ठाका आधारमा देश र जनताप्रति समर्पणको भाव देखाउनुभएको थियो”, उपसभापति खड्काले भने ।

उनले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गरे ।

कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले जीवनभर देश, जनता र प्रजातन्त्रका लागि अविश्राम लागि पर्नुभएका व्यक्तित्व किसुनजीको निष्ठा र साद्गीपनको अनुशरण गर्नसकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने भन्ने धारणा राखे ।

“वर्तमान समयमा विकृति र विसङ्गतिको चाङमा उभिएर आजको दिनमा उहाँले दिनुभएको मार्गदर्शन पछ्याउन ज्यादै कठिन छ । किसुनजीको सन्तपन, साद्गीपन र सदाचार हामीमा पनि हुनु आवश्यक छ”, उपसभापति गुरुङले भने ।