प्रधानमन्त्री देउवाका सात महिना

प्रधानमन्त्री देउवाका सात महिना



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताको बागडोर सम्हालेको सात महिना पुगेको छ । झण्डै दुईतिहाई जनमतको अवमूल्यन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथी नै प्रश्न उठ्ने गरि सिर्जना गरेको राजनीतिक भद्रगोलका बीच बिशेष परिस्थितिमा देउवा प्रधानमन्त्री बनेका हुन् । सात महिनाको अवधिमा जनअपेक्षा अनुरुप सबै काम गर्न नसकेपनि देउवाले लोकतन्त्रका आधारभुत मान्यतालाई आत्मसात गर्दै सरकार सञ्चालनको प्रयत्न गरेको देखिन्छ । जटिल राजनीतिक परिस्थितिका बीच गठबन्धनको विश्वास जोगाउदै अघि बढ्नुपर्ने बाध्यतामा रहेका प्रधानमन्त्री देउवासामु सबै तहका चुनाव सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप मजबुद बनाउने गहन दायीत्व रहेको छ ।

छ महिना यता प्रतिनिधिसभाको बैठक अवरुद्ध छ । प्रमुख प्रतिपक्षी एमालेको राजनीतिक बेइमानीका कारण जनप्रतिनिधिको सर्वोच्च थलो यसरी लामो समयसम्म अवरुद्ध रहनु लोकतन्त्रका लागि सुहाउदो बिषय होइन । सर्वोच्च अदालतको अवस्था उस्तै छ । प्रधानन्यायाधिशको राजीनामाको माग राखेर वकिलहरुले शुरु गरेको आन्दोलन अझै जारी छ । यसले न्यायसम्पादन प्रक्रियामै अन्यौंलको अवस्था उत्पन्न गरिदिएको छ । संसद र न्यायालय अर्थात् व्यवस्थापिका र न्यायपालिकाको लठिभद्र अवस्थाले कार्यपालिकाको कामकारवाही पनि नराम्ररी प्रभावित भइरहेको छ । प्रतिपक्ष गैरजिम्मेवार बन्दा राजनीतिको सु–सञ्चालनमा कसरी अवरोध आउछ भन्ने उदाहरण ओली सत्ताबाट बाहिरिएपछिको ७ महिनालाई हेर्दा प्रष्ट हुन्छ ।

चुलिदो जनअपेक्षाकै बीच गठबन्धनको विश्वास जित्दै सरकार सञ्चालन गर्नुपर्ने तथा एमालेजस्तो प्रतिपक्षीको सामना गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री देउवालाई सहज अवस्था पक्कै छैन । तर पनि सधै राजनीतिक संकटकै समयमा सत्ता सम्हाल्नुपर्ने परिस्थितिले देउवालाई सधै पछ्याइरहेकै देखिन्छ । प्रधानमन्त्री देउवा देश, लोकतन्त्र र जनताको पक्षमा सधै लागिपर्ने नेता भएपनि जस कसैले नदिने तर अपजसका ठूलाठूला भारी बोकेर हिडिरहनुपर्ने नियतीबाट अछुतो रहन सकेको देखिदैन ।
वास्तममै प्रधानमन्त्री देउवासामु धेरै चुनौतीको सामना गर्नुपर्ने दायीत्व छ । संकटमा नै नेतृत्वको सहि परिक्षण हुने हुँदा देउवाले सबै चुनौतिहरुलाई अवसरकारुपमा लिएर प्राथमिकता निर्धारण गरी अघि बढ्नु जरुरी देखिन्छ । प्रधानमन्त्री देउवाले तत्कालका लागि निम्न ५ बिषयमा ध्यान केन्द्रीत गरि अघि बढ्नु उपयुक्त देखिन्छ ।

१. स्थानिय, प्रदेश र संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको चुनाव भयरहित वातावरणमा शान्तिपूर्ण र धाधलिरहित हिसाबले सम्पन्न गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको जग थप मजबुत बनाउने ।

२. एमसीसी विवादको समाधान खोज्ने र नेपालप्रति अन्तरराष्ट्रिय समुदायको विश्वास गुम्न नदिने ।

३. राष्ट्रिय एकतालाई अक्षुण राख्दै नेपालको समस्या नेपाली नेताहरु आपसमा मिलेरै समाधान खोज्न सक्छन् भन्ने मान्यतालाई कायमै राख्ने ।

४. कोरोना नियन्त्रण, सुशासन र विपन्नलाई राहतका पक्षमा सरकारको काम कारवाही द्रुत गतिमा अघि बढाउने ।

५. सबै तहका चुनावमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने ।

यी पाँच बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्न सके प्रधानमन्त्री देउवाबाट जनताले गरेको अपेक्षा पुरा हुने छ ।