सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा

सरकारको कार्यशैली बदल्ने प्रधानमन्त्रीको घोषणा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् ।

प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’

एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ । के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ?’

नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री प्रचण्डले बताए । लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै उनले भने, ‘८० वर्षमा नभएको काम एक वर्षमा भएको छ ।’

भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको भन्दै उनले यो ऐतिहासिक भएको बताए ।

सम्बोधन समारोहमा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत उच्च सरकारी अधिकारीको उपस्थिति छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । वर्तमान सरकारले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखी कार्यसम्पादन गरिरहेको उनले बताएका छन् ।