नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २००६ सालामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरेका छन् । बुधवार ललितपुरमा जारी पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीको वास्तविक उत्तराधिकारी भएकाले आफूहरूले १० औं महाधिवेशन गर्न लागेको बताए ।

नेकपा एमालेले यसअघि नै १० औं महाधिवेशन गरिसकेको छ । तर, अध्यक्ष नेपालले एमाले फुटाएर नयाँ पार्टी बनाएको भएपनि उत्तराधिकारी आफ्नो पार्टी भएको जिकिर गरे ।

उनले भने, ‘हामी नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशन आयोजना गर्ने बिन्दुमा उभिएका छौं । हामीले १० औं महाधिवेशन किन भनिरहेका छौं भने नेपाल कम्युनिष्ट पार्टी जुन २००६ सालमा स्थापना भएको हो । त्यसको उत्तराधिकारी हौं । विभिन्न बेलामा यस्ता समय आएका छन् जतिबेला हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको छ । पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गर्नुभएको थियो ।’

अध्यक्ष नेपालले समाजवादी मोर्चाको बैठकमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे गम्भीर छलफल सुरु भएको बताए । उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै जनतामा लोकप्रिय बनाउन माओवादी, जसपा र विप्लव नेतृत्वको नेकपा पनि सहमत रहेको दाबी गरे ।