जनयुद्ध दिवस मनाउने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

जनयुद्ध दिवस मनाउने सरकारको निर्णय सर्वोच्चद्वारा बदर



काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

द्वन्द्वकालमा पिता मारिएका माओवादी पीडित तथा अधिवक्ता रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो ।

रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने जिकिर गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले गत वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।