कात्तिक २७ गते भारतबाट झापाको बाहुनडांगी हुँदै नेपाल छिरेका ३७ हात्ती हाल मोरङ्गको बेलबारी–लेटाङ्ग–मंगलबारेको जंगल आसपासमा अड्किएका छन् । पुर्खाको थातथलो र हात्ती मार्ग हुँदै बर्षेनी अनिवार्य बिचरण गरी छाड्ने हात्तीहरुको बिचरण रेञ्ज उदयपुर–सिन्धुलीसम्म हो । तर जैबिकमार्ग टुटेकाले उनीहरु लोहोन्द्रा खोला पारी जान सकेका छैनन् । करिब १ किमिको गाउँ, बस्ती र भिरले उनीहरुको पैतृकमार्ग टुटाइदिएको छ ।
हात्तीमा पीएचडी डाक्टर दिनेशको दावी थियो– ‘हात्ती एक ठाउँमा स्थिर भएर बस्न सक्तैन र उसले अनिवार्य यात्रा गर्नै पर्दछ । लामो यात्रा पाचन प्रकृया र शारीरिक तन्दुरुस्तीको लागि बाद्यकारी जैविक आवश्यकता हो ।’
तर, बेलबारी आसपासका हात्तीले अड्डा जमाएर बसेको आज ३ हप्ता पूरा भइसकेको छ । बिज्ञहरुलाई अनुसन्धानको बिषय । अनुमान लगाउँदा आधा दर्जन बढी हात्ती सुत्केरी भएका छन् । २० मिनेटमा जुरुक्क उठ्नै पर्ने छावाहरुको पालनपोषण र सुत्केरीहरुको भरणपोषण बाध्यताले हात्ती त्यहाँ रहेका हुन् सक्दछन् । बनजंगलमा स–साना समूहमा छरिएर उनीहरु गुजारा चलाइरहेका छन् ।
हात्ती रहेको क्षेत्रका बासिन्दा, किसान, कर्मचारी, बिद्यार्थी, शिक्षक सबै त्रसित छन् । हात्तीबाट बच्ने उपायहरु खोजिरहेका छन् । स्थानीयवासीको त्रास आतंकमा परिणत भइरहेको अवस्था खतरनाक छ । आक्रोश र आक्रमण बढ्दो छ । मानवीय आक्रमण हात्तीलाई बिज्याउने बिच्काउने र जाइलाग्न बाद्य पार्ने किसिमको छ । साँझ परेपछि आगोको पुल्ठो, भाला, डोजर, टिपर, ट्रक, बस, मोटरसाइकल निकालेर हात्ती लखेट्ने काम होस् वा ‘घर बाहिर ननिस्कनु’ भन्ने सन्देश दिन बजेको साइरनमा गाउँ टोल उल्टेर हात्ती घेर्न जाने काम होस्, ती बिलकूल प्रत्युत्पादक छन् र मानवीय क्षतिका लागि जिम्मेवार लापर्बाही हुन् । यसले हात्तीलाई असह्य बिच्काएको छ र आक्रमण गर्न बाध्य पारेको अवस्था छ ।
समाज ध्रुबीकृत छ । त्यहीं हात्तीलाई धान, मकै, केरा दिएर ब्यवस्थापन गर्न लगाउने बुद्धहरु पनि छन् । र, त्यहीं ‘हात्तीलाई कि दार्जिलिङ्ग कटाउ कि गोली हानेर मार्ने आदेश देउ’ भन्ने आक्रोसित स्वरहरु पनि छन् ।
कर्मथलो बर्दिया भए पनि करिब ३ हप्ता हात्तीसँग मेची नदी–बाहुनडाँगी–ईलामको रोङ्ग सलकपुर – पाँचपोखरी – कानेपोखरी – लेटाङ्ग – बेलबारी यात्रा गरेर हात्तीको जैबिकमार्ग र बासस्थान हेर्न बुझ्न पाइयो । प्रभावित उद्यमी, किसान, शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मी, बिज्ञ, बन अधिकारी, राजनीतिकर्मी, पत्रकारहरुसँग अन्तरक्रिया गरेर उहाँहरुको ज्ञान अनुभव लिन पाइयो । यही हात्ती अध्ययनको सेरोफेरोमा रहेर न्युन द्वन्द्व र शून्य क्षतिको सिफारिस गर्न यो आलेख पस्किएको छु ।
हात्ती मैत्री नमूना गाउँ–बाहुनडांगी
अधिकांश समय हात्तीमैत्री नमूना गाउँको होमस्टेमा बिताएँ । हात्तीमैत्री चियाबगान, चियाबगान भित्रका ३ तले र ६ तले नगदेबाली (सुपारी, तेजपत्ता, मरिच, कागती) को ब्यवस्थित खेती देखेर उत्साहित भएँ । हात्तीमैत्री किसान समूह, हात्तीमैत्री पार्क, हात्तीमैत्री होटल लज, हात्तीमैत्री पर्यटन, हात्तीमैत्री क्लब देख्दा मलाई बसाईसराई गरेर बाँकी जीवन हात्तीसँग त्यही सुन्दर गाउँमा बिताउँन मन लाग्यो । पूर्व प्रहरी किसान सुकुमार प्रधानले सुनाउनु भयो– ‘यो पृथ्वीमा हात्तीजस्तो अति अनुशासित जीव पनि हुँदोरहेछ । १ ताँतीमा खेती नबिगारी यात्रा गर्दछ । आफ्नो बाटो जंगल जान्छ । होहल्ला र आक्रमण नगरे जीउ धनको पटक्कै क्षति गर्दैन । धान रोप्दा म २ गरा गणेश भगवानलाई छुट्याईदिन्छु । तर आजसम्म मेरो २ मुठी धान हात्तीले खाएको थाहा छैन ।’
२ फोगटा धान, २ रुख सुपारी, २ रुख नरिवल, २ रुख रुखकटहर, २ घरी केरा, २ डोको मकै हात्तीलाई छुट्याइदिने धेरै महान् छाती भएका किसान दाजुभाइहरु भेटें । गर्व लाग्यो ।
यदाकदा संयोगले अनपेक्षित दुर्घटना (एक्सिडेन्टल द्वन्द्व) हुन सक्ला तर बाहुनडांगीमा स्थानीय जनताको लापर्बाही, ईष, शक्ति प्रदर्शनले हात्तीसँग द्वन्द्व हुनेवाला छैन । बरु हात्ती मानव सहअस्तित्वको असल पाठशाला भएको छ त्यो गाउँ । असल हात्ती प्रशिक्षक भएका छन् भुक्तभोगी जनता । उच्च हौसला र मनोबल भएको प्रतिबद्ध युवा समूहको द्रू्रत्तर ब्यवस्थापन दस्ता (-यापिड् रेस्पोन्स् टिम –आरआरटी) त्यो गाउँको सूचना संजाल, उद्धार समूह, दरो रक्षा कवच हो । गहना हो ।
नमूना गाउँमा पर्यटन फस्टाउँदो छ । होमस्टे भरिभराउ छन् । सडकमा साइकल यात्रीको ताँती छ । हात्ती हेर्न, पढ्न, अनुसन्धान गर्न आउने बिद्यार्थी, अनुसन्धानकर्मी, बिज्ञहरुको भिड्भाड् छ । हात्तीमैत्री नमूना यो गाउँ देखेर म मोहित भएँ । स्वर्गजस्तो गाउँ !
मेरो कर्म क्षेत्र बर्दियामा ‘हात्ती मेरो साथी’ नारा लगाउने नमूना गाउँहरु देखेको थिएँ । त्यहाँ पनि द्वन्द्व न्यून । मानवीय क्षती शून्य ।
यो बर्ष अर्को नमूना गाउँ देखें– बाहुनडांगी । जहाँ हात्तीको खानी छ । ५ बर्ष भयो कोही मान्छेको ज्यान गएको छैन ।
सलाम छ, यो हात्तीमैत्री नमूना गाउँलाई । नेपालमा घामको पहिलो किरण पर्ने त्यो गाउँमा समृद्धिको फुल छिटो फुलोस् । त्यो नमूना गाउँको अनुशासन, धैर्यता, सहनशीलता, आतिथ्यता, महानता, दान धर्म संस्कृति र सु–संस्कार घामको किरणसँगै हात्ती कोरिडोरका अरु सबै गाउँहरुमा फैलियोस् ।
मेचीदेखि महाकालीसम्म नमूना गाउँहरुको माला उनियोस् । विश्वभरि गाउँ–गाउँ, जन–जनले बनाएको स्वर्गजस्तो देश नेपाल भन्ने नयाँ दिब्य ‘पर्यटन सन्देश’ फैलियोस् ।
आज त्यो हात्तीमैत्री गाउँमा ब्यवहारिक शिक्षा लिन पीएचडी बिद्यार्थी आउँछन् । यो नमूना गाउँले दुईजना पीएचडी हात्तीविज्ञ उत्पादन गरिसकेको छ । एनजिओ आईएनजिओ शिक्षा लिन आउँछन् । म नयाँ बिद्यार्थी आएजस्तै ।
हात्तीमैत्री गाउँ पंक्षीमैत्री र समग्रमा प्रकृतिमैत्री हुन्छ नै । बाहुनडाँगी जैविक विविधताको हटस्पट हो । यहाँको भौगोलिक साँस्कृतिक विविधता उस्तै रोचक र अनुसन्धानयोग्य छ । तसर्थ, बाहुनडांगी भविष्यमा प्रकृतिमैत्री पर्यटनको अनुपम केन्द्रविन्दू हुने निश्चित छ ।
पुरानो खतरनाक बाहुनडांगी
त्यही बाहुनडांगी हो, सधै आक्रान्त थियो । आक्रोसित उस्तै । पीडा र आँशुमा डुबेर थाकेको बाहुनडांगी । सत्ता–सरकारको ओजेलमा परेको सँधै ग्रहण लागेको बाहुनडाँगी ।
हात्तीसँग जुध्ने लड्ने हराउने भगाउने सक्ने सबै जुक्ति लगायो बाहुनडांगीले ।
राष्ट्रिय ढुकुटी खर्चेर सीमापारीबाट ठूल्ठूला ट्रकहरुमा बिष्फोटक पदार्थ आयात ग¥यो । मेची नदीभरि बिछ्यायो र रातभरि पड्कायो ।
राष्ट्रिय ढुकुटीबाट बन्दुक दुईनाल किन्यो र हात्तीलाई निशाना गरेर गोली ठोक्दा ठोक्दा ग¥यो ।
राज्यलाई गुहा¥यो र अन्तर्राष्ट्रिय सार्पसुटर झिकाएर हात्तीहरु मार्न लगायो । अजंग गणेशहरु ढल्दा धर्ती हल्लियो । बमहरु पड्काउदा मेची नदीमा भूकम्प आयो । ती प्रत्यक्षदर्शी भुक्तभोगीहरु आज सक्रिय र सफल उद्यमी भएका छन् । अक्षम्य भुल र पाप ग¥यौं भनेर गल्ती स्वीकार गरिरहेका छन् । गणेश भगवानसँग क्षमा पुजा गरेर माफ मागिरहेका छन् ।
बम बन्दुक बेच्नेहरु गललल हाँसे । मेची र मातृभूमि थररर काँपे, रोए, कराए । प्रकृति माता बियोगले स्तब्ध भइन् ।
तर बाहुनडाँगीबासीको पीडा बीसको उन्नाइस भएन । हात्तीहरु पैतृक थातथलो र मार्गमा निरन्तर आइरहे । आइरहे ।
गेम चेञ्जर
आज बाहुनडाँगी परिवर्तन भएको छ । मानव हात्ती मेलमिलापको नमूना केन्द्र भएको छ । जसले हात्ती लखेटेर मारेर होइन, माया रक्षाकल्याण सम्मान गरेर मेलमिलापको सुमार्गमा दोहो¥याए ती जनता गेम चेञ्जर हुन् । लामो संघर्षले समुदायस्तरबाट जन्माएका ती गेम चेञ्जरहरुले जन–जनको दुष्टिकोण, बानीबेहोरा, स्वभाव र समग्रमा जीवनशैली परिवर्तन गरेर आजको मेलमिलाप बिन्दुमा समाजलाई सफल अवतरण गरे । मेरो जोडदार सिफारिस – मोरङ्ग बेलबारीले नयाँ रचना होइन, प्राकृतिक ब्यवहारिक र परिपक्व बाहुनडाँगी मोडल अपनाएर छिटो मेलमिलाप बिन्दूमा पुग्ने उत्तम विकल्प रोज्नुपर्दछ ।
स्थानीय पीडाले कोही भागेनन् । त्यहीं बसिरहे । हात्तीलाई पढिरहे । हात्तीले प्रकृति, परिस्थिति, संस्कृति पढायो । बुझायो । आज हरेक स्थानीयलाई बिज्ञ बनायो । थकित् स्थानीयले ब्यबहार परिवर्तन (बिहेभियर चेञ्ज) गरे । हात्तीमैत्री सुमार्ग रोजे । जुन् हात्तीलाई हराउने र आफूले जित्ने सु–संस्कार थियो । पुर्खाले मानिआएको धर्म संस्कृतिको रक्षा कल्याण सम्मान थियो । त्यही दुबैलाई जितै जित्को सु–संस्कार भयो । त्यही सूत्र हो आजको बाहुनडाँगीको गर्वयोग्य पहिचान र चिनारी ! कति सुन्दर शान्त पहिचान !
सिक्नुपर्ने पाठ र सिफारिस
बाहुनडाँगीलाई अनेकन अभ्यास गरेर पाठ सिक्न पचासौं बर्ष लाग्यो ।
बाहुनडाँगी पहिचानको मोरङ्गलाई पचास बर्ष होइन, पचास घण्टामा पाठ सिकेर द्वन्द्व न्यून र मानवीय क्षति शून्य गर्नुछ ।
तर, हेक्का रहोस्, बिश्वभरिको असल र उत्कृष्ट पाठ बाहुनडाँगी कै हो । बाहुनडाँगी उदार र महान छ । पाठ सिकाउन तयार छ । अब आइन्दा म पनि बाहुनडाँगीबासी हुँ । बाहुनडाँगीको जेष्ठ आआरटी सदस्य हुँ । हामी तयार छौं ।
पहिलो र सशक्त सुरक्षा सूत्र सचेतना कार्यक्रम हो । त्यसले समुदायलाई अनुशासित धैर्यवान सहनशील क्षमाशील बनाउँदछ । सूचना सञ्जाल बिछ्याउँदछ । अनुशासित र प्रतिबद्ध युवाहरुलाई एकट्ठा गरी तालिमप्राप्त आरआरटी को रक्षाकवचले हात्ती र समाज दुबैलाई शान्तपूर्वक जिउन सिकाउँदछ ।
त्यसपछि समाज हात्तीआक्रान्त होइन, सुन्दर शान्त हात्तीमय हुनेछ ।
बिश्व हात्ती–मानव द्वन्द्व होइन, हात्ती–मानव सहअस्तित्व हेर्न लालायित छ । र, भविष्यमा ती नमूना गाउँहरु हात्ती अध्ययन अनुसन्धानका पाठशाला हुने छन् र बिश्व ती गाउँका घर आँगनमा हाजिर हुनेछ । त्यसको अर्को नाम हात्ती पर्यटन हुनेछ र त्यसैले समृद्धिको ढोका खोल्ने छ । किनभने हात्तीको संरक्षण भनेको समग्र जल जंगल जीवजन्तु जडिबुटी प्राणबायुको रक्षा हो ।
बाहुनडांगीको हात्तीमैत्री नमूना गाउँलाई तीनै तहका सरकारले हात्तीमैत्री गाउँ घोषणा गरेर कदर गर्नुपर्दछ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, हात्तीमैत्री पूर्वाधारमा अनुदान लगानी गरेर त्यो गाउँको संघर्ष, त्याग र समर्पणलाई पुरस्कृत गर्नुपर्दछ । एनजिओ आइएनजिओहरु बाहुनडाँगीलाई हात साथ र काँध थापेर सुन्दर शान्त नमूना हात्तीमैत्री गाउँ बनाउन लागिपर्नु पर्दछ ।
नेपाल अधिराज्यको ठाकुरबाबा नगरपालिकाले क्षतिपूर्ति, राहत, बिमा सरल सुलभ उपलब्ध गराए जस्तै हात्ती प्रभावित स्थानीय र प्रदेश सरकारहरुले जीवन रक्षा गरिछाड्ने तर घर अन्नवालीको क्षतिपूर्ति शीघ्र पीडितको घरमै गएर बिनाबिलम्ब उपलब्ध गराउँने बिश्वसनीय संयन्त्र कार्यान्वयनमा ल्याइदिनुपर्दछ ।
जैविक मार्ग बनाई छाड्ने स्थानीय र प्रदेश सरकारको पवित्र उद्देश्य तारिफयोग्य छ । प्रदेश पूरै हात्तीमय प्रकृतिमय भएको छ । ताई तातेको बेलामा संरक्षणकार्यहरु कार्यान्वयनमा लैजान प्रशासनिक र प्राविधिक संयन्त्रले पहलकदमी लिए पुग्छ ।
अन्त्यमा, हात्ती अभिशाप होइन बरदान हो । हात्तीश्रापले मान्छे, गाउँ, समाज उभो लाग्दनै बरु क्षतिका शृङ्खलाहरु दोहोरिहन्छन् । बरु पशु आषिश पाएको समुदाय र समाज लक्षिण, सह, श्री, शान्ति, समृद्धिको बाटोमा छिटो अग्रसर हुनेछ । यो बाहुनडांगीबासीहरुले सकारेको सत्य हो ।
तसर्थ, प्रदेशमात्र होइन, राज्यले पनि बाहुनडांगीबाट पशुश्राप होइन पशु आषिशको पाठ सिकेर मुलुकलाई प्रकृतिमय बनाउन जरुरी छ ।
प्रतिक्रिया