प्रमुख दलहरुको संयुक्त सरकार बनाऔँ : बाबुराम भट्टराई

प्रमुख दलहरुको संयुक्त सरकार बनाऔँ : बाबुराम भट्टराई



काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख राजनीतिक दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका छन् ।

सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसर पारेर गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका हुन् । उनले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउनुपर्ने बताए ।

उनले आपसमा भागबन्डा गरेर सरकार नबनाई एउटा सर्वमान्य व्यक्तिको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन सकिने बताए । ‘एउटा सबैले मान्ने मान्छेको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन न ! नीति तथा कार्यक्रम बनाएर कार्यान्वयनमा जान सकिन्छ’, उनको भनाइ छ ।

त्यसबाहेक उनले स्वीटजरल्याण्डको जस्तो पूर्ण समानुपाती निर्वाचन प्रणाली अपनाएर पनि जान सकिने अर्को प्रस्ताव सुनाए । उनले त्यो गर्न नसक्ने भए प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीमा नगए यो देश नबन्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले संविधान, नेता र व्यवस्थाप्रति आक्रोश बढेको विषयलाई गम्भीरतापूर्वक लिएर सहमति गर्नुपर्ने बताए । उनले भने, ‘केही गम्भीर त्रुटिहरु छन्, हामीले बनाएको संविधान कार्यान्वयन हुन नसक्नु र त्यसले फल दिन नसक्नुमा कमजोरी छन् त्यसलाई हामीले सच्चाउनतिर र राष्ट्रिय सहमति गर्नतिर लाग्नुपर्छ ।’

उनले राजतन्त्रको भूतबाट तर्सिनुनपर्ने भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताए । संविधानको मूल मर्मलाई रक्षा गरेर नतिजा दिनुपर्नेमा उनले जाेड दिएका छन् ।