भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने

भरतपुरको दुई ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिने



चितवन । पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा लिइएको भरतपुरमा अब दुई स्थानबाट प्याराग्लाइडिङ गर्न सकिने भएको छ । गत वैशाखमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिक उद्घाटन गरेकाे भरतपुरको हिमालयन फन्टियर्स प्याराग्लाइडिङको व्यावसायिक उडान बर्खा लागेसँगै स्थगन गरिएको थियो ।

कम्पनीका सञ्चालक शैलेन्द्र रावतका अनुसार वर्षाका कारण बाटो बिग्रेको हुनाले सञ्चालनमा आउन नसकेको प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि भरतपुरका दुई स्थानबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

भरतपुर महानगरपालिका– २९, चौकीडाँडा र कविलासडाँडाबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरु गर्न लागिएको उनले बताए । सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकामा अबदेखि दुई ठाउँबाट उडान गर्न लागिएको रावतले जानकारी दिए ।

भरतपुर भ्रमण वर्षकाे अवसर पारेर प्याराग्लाइडिङ सुरु गर्ने भनिए पनि भ्रमण वर्ष स्थगित भएपछि कम्पनीले उडानको काम सुरु गर्न लागेको रावतको भनाइ थियो । चितवनमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको नयाँ अनुभवसँगै बसाइ लम्ब्याउनका लागि प्याराग्लाइडिङले भूमिका खेल्ने उनले बताए ।

समुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र पाँच सय ८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने व्यवस्था मिलाएको र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनारको दुई सय ५० मिटर उचाइमा हुने रावतले जानकारी दिए । उनका अनुसार प्याराग्लाइडिङमा एक सय २० किलो तौलभन्दा कम भएकालाई मात्र उडान भर्न सकिनेछ। अवतरण गरिने स्थान त्रिशूली किनार भने तनहुँको देवघाट गाउँपालिकामा पर्दछ ।

नयाँ गन्तव्यको खोजी गर्ने क्रममा यस क्षेत्रमा प्याराग्लाइडिङ सुरु गरिएको रावतले बताए। उनका अनुसार यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्नेछ । उडानका लागि चौकीडाँडाबाट रु. आठ हजार र कविलासबाट रु. चार हजार तोकिएको छ । सुरुवातमा चौकीडाँडाबाट दुईवटा र कविलासबाट दुईवटा उडान गरिनेछ ।

१० जना चालक राखेर काम गर्न पाउने भए पनि सुरुवातमा थोरै चालकबाट काम गर्न लागिएको रावतले बताए । यहाँको नागबेली परेको सडक र त्रिशूली नदीमाथिबाट भरतपुर र देवघाटका रमणीय स्थलको दृश्यावलोकनसँगैको उडानले पर्यटकले भरपुर आनन्द लिन सक्ने उनको भनाइ थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । कविलासडाँडा नारायणगढ–मुग्लिनको मुख्य सडकबाट तीन किलोमिटर माथि रहेको छ । कविलास रिसोर्टको छेउमा गर्न लागिएको दोस्रो उडानस्थल माथि जान नसक्ने र अनुभव लिनेहरूका लागि सहज हुने रावतले बताए ।