ढाका । बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका कप्तान शकिब अल हसनले आम निर्वाचनमा जित हासिल गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीबाट टिकट पाएका शकिबले मगुराको पश्चिमी सहरबाट चुनाव जितेका हुन् ।
उनले एक लाख ५० हजार बढी मतान्तरले चुनाव जितेको एएफपीले जिल्लाका प्रमुख प्रशासक अबु नसेर बेगलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ ।
प्रमुख विपक्षी दल नेसनलिष्ट पार्टी बिएनपीले भने चुनाव बहिस्कार गरेको थियो ।
शकिबले क्रिकेटबाट संन्यास लिइसकेका भने छैनन् । उनी बंगलादेशी क्रिकेटका अलराउन्डर समेत हुन् ।
कुल तीन सय सिटमध्ये २९९ सिटमा आइतबार मतदान भएको थियो ।
निर्वाचन भएको २९९ सिटमध्ये सत्तारूढ दल अवामी २२३ सिटमा विजयी भएको छ । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई पनि हसिनाकै पार्टी अवामी लिगको समर्थन थियो । विवादित चुनावमा ४० प्रतिशत मात्रै मत खसेको बताइएको छ ।
प्रधानमन्त्री हसिनाले पाँचौं पटक चुनाव जितेर प्रधानमन्त्री बन्दै छिन् ।


प्रतिक्रिया