काठमाडौं । रारा तालमा पाहुना चरा एरिड ग्रीब देखापर्यो । यी पाहुना चरा उत्तर चीनबाट दक्षिण भारततर्फ उडान गर्दा कहिकाहिँ नेपालमा आराम गर्दछन् । रारामा आराम गरेका बेला फोटोगाफ्रर निखिलराज कार्कीले क्यामेरामा कैद गरेका तस्बिर हुन् यी ।

यो प्रजातिको चरा अफ्रिका, यूरेशिया र अमेरिकाका केही भागहरूमा पाइन्छ। कालो घाँटी भएको ग्रीबले बसाइँसराइको समयमा ६ हजार किलोमिटरसम्म यात्रा गर्दछ। यात्रा पूरा गरिसकेपछि दुई महिनासम्म यो नउड्न पनि सक्छ । बसाइँसराइ गरी आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ स्थान हुने हुँदा प्राकृतिक तथा मानवीय शिकारको अत्यधिक जोखिम हुने पन्छी संरक्षणकर्मी बताउँछन् ।

नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन् । खासगरी उत्तरी ध्रुवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजीमा बर्सेनी करिब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गर्दछन् ।



प्रतिक्रिया