‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’

‘जनताका समस्या बुझ्न समुदायमा कांग्रेस अभियान’



चितवन । कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बताएका छन् ।

प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको अन्तर्क्रियामा पोखरेलले यस अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताए । गाउँगाउँमा पुगेर आमनागरिकका धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाइ थियो ।

बिपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएका भन्दै नेता पोखरेलले अहिलेको परिवेशअनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने विश्वास व्यक्त गरे । बसाइँसराइ, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञानलगायत विविध परिवेश फेरिएको भन्दै उनले सोहीअनुसार अघि बढ्न अभियान गरिएको बताए ।

चितवन जिल्लाका पार्टी सभापति राजेश्वर खनालले अभियानमा जिल्लाका नेता–कार्यकर्ताका भूमिकाबारे जानकारी गराएका थिए। यही माघ १३ गतेदेखि सुरु भएको अभियान २६ गतेसम्म सञ्चालन हुनेछ ।