मनाङ । गण्डकी प्रदेशको विकट जिल्लाका रूपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ ।
यहाँका स्थानीयलाई सदरमुकाम चामे पुग्न सडक सहज बनाउनु नै प्राथमिकता रहेको छ । सदरमुकाम पुग्नका लागि पैदल यात्रा गर्दा तीन दिन छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीय सोनाम तेन्जिङ लामाले बताए । यहाँका स्थानीयको माग सडक सञ्जाल विस्तार गर्नु रहेको उनको भनाइ थियो ।
‘संघीयता कायम भएपछि गाउँगाउँमा सिंहदरबार पुग्यो। यहाँ भने सडकसम्म पुग्न सकेन । स्थलमार्गको पहुँच राम्रो नहुँदा सदरमुकाम पुग्न तीन दिन लाग्छ,’ लामाले भने । सडक निर्माण अगाडि बढ्दा आशा पलाएको भन्दै उनले सडक बनेपछि स्थानीयले सास्ती भोग्नु नपर्ने बताए ।
स्थानीय कर्मा याञ्चु लामाले भने, ‘हामीलाई अस्पताल पुग्न पनि सास्ती हुने गरेको छ। बिरामी भए अस्पताल पुग्नै तीन दिन लाग्छ । यहाँको स्वास्थ्य चौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी र डाक्टर कोही हुँदैनन् ।’ यहाँका स्थानीय अझै पनि जडीबुटीको भरमा उपचार गर्न बाध्य रहेका उनले बताए ।
स्वास्थ्य चौकीमा डाक्टर नआएपछि जटिल किसिमको बिरामी भएमा गाउँपालिकाको सहयोगमा काठमाडौं जानुपर्ने अवस्था रहेको कर्माको भनाइ थियो । गाउँपालिकाको सहयोगमा हेलिकाेप्टरमार्फत काठमाडौंका अस्पताल पुग्ने गरिएको उनले जानकारी दिए ।
‘यहाँबाट छिटो पुग्ने बाटो बनेको छैन। अहिले बन्न लागेको भन्ने सुनेका छौँ। छिटो निर्माण सम्पन्न भए सबैलाई सहज हुने थियो,’ कर्माले भने । यहाँका स्थानीय सडक नबने पनि पैदल हिँडेर विभिन्न कामका लागि चामे सदरमुकामसम्म पुग्ने गरेका छन् । स्थानीयले भोगेका समस्या समाधानमा अहिले जनप्रतिनिधिले प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।
मनाङमा सडक सञ्जाल विस्तार भएको २० वर्षपछि जिल्लाको विकट क्षेत्र नार्पाभूमि सडक सञ्जालसँग जोडिन लागेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले बताए । उनका अनुसार प्रदेश सरकार र स्थानीय पालिकाबाट बजेट छुट्याइएपछि सडकको ट्रयाक खोल्न लागिएको हो ।
जनप्रतिनिधि तथा स्थानीयको पहलमा अहिले सडक सञ्जाल विस्तारको काम भइरहेको अध्यक्ष लामाले जानकारी दिए । चिसो र हिमपातका कारण जाडोमा काम रोकिएको भन्दै फागुनको अन्तिम सातादेखि कामले तीव्रता पाउने उनले बताए ।
अध्यक्ष लामाका अनुसार सडकको ट्रयाक खोल्नका लागि सहरी विकास मन्त्रालयबाट रु. २५ लाख, गण्डकी प्रदेश सरकारबाट गतवर्ष रु. ४० लाख र चालू आर्थिक वर्षमा गाउँपालिकाबाट रु. ९० लाख विनियोजन भएको छ । ‘हिउँदे अधिवेशनपछि प्रदेश र संघ सरकारबाट बजेटको व्यवस्थापन हुन सक्ने अपेक्षा गरेका छौँ,’ उनले भने ।
मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा ट्रयाक खोल्न लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनले पालिकालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य पूरा गर्न मनाङका जनप्रतिनिधि र छिमेकी पालिकाको सहयोग रहेको बताए ।
‘पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्रयाक खोल्ने योजना बनाएका थियौँ । यसमा प्रदेश र संघ सरकार समन्वय गरेपछि थप हौसला थपिएको छ,’ अध्यक्ष लामाले भने, ‘हालसम्म २६ किलोमिटर सडक खनिसकिएको छ । माथिबाट पालिकाले कामदार खटाएर सडक खनिरहेको छ भने तलबाट एक्स्काभेटरको प्रयोग गरी अपरेटर र सहयोगी राखेर काम भइरहेको छ ।’
चामे गाउँपालिका–३ कोतोमा मर्स्याङ्दी नदीमा मोटरेबल पुल, नार्पाभूमि गाउँपालिकाको छ्याचेको नार खोलामाथि मोटरेबल पुल निर्माण गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको अध्यक्ष लामाले जानकारी दिए। उनका अनुसार सडक नौ मिटर चौडा हुनेछ ।
स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले आव ०७५/७६ देखि चालू आवसम्म बजेट विनियोजन गर्दै आएको छ । गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वखेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)को क्षेत्रका रूपमा रहेको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन ।
यस क्षेत्रमा सडक विस्तार गर्न मनाङेसहित जिल्लाका पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला सांसद तथा स्थानीय सरकारका जनप्रतिनिधि लागिपरेका छन् । ‘यहाँ ट्रयाक खोलेर मात्रै हुँदैन । भिरको बाटो छ, जोखिम उत्तिकै हुन्छ । जोखिम कम गर्न यहाँका नदीनालामा व्यवस्थित पुल निर्माण पनि उत्तिकै आवश्यक छ,’ लामाले भने, ‘सडकसँगै पुल निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ । बजेट विनियोजन भए यसलाई सुरक्षित बनाउन सक्नेछौँ ।’
यस पालिकामा ट्रयाक खोलिएसँगै स्थानीयमा खुसी छाएको छ । जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय बताउँछन् । मर्स्याङ्दीलगायत सानाठूला नदीमाथि पुल निर्माण गर्न सकिए यात्रा अझै सुरक्षित हुने उनीहरूको भनाइ छ । यस पालिका सडक सञ्जालसँग जोडिएपछि जिल्लाका सबै पालिकामा सवारीसाधनमार्फत यात्रा गर्न सकिन्छ ।
प्रतिक्रिया