बेइजिङ । मध्यपूर्वमा यतिबेला तनाव जारी छ । हमास र इजरायलबीच चार महिनायता युद्ध चलिरहेको छ, यसबीचमा अमेरिकाले पनि यमनमा हुथी विद्रोहीमाथि र इरान समर्थित लडाकुहरूलाई सिरिया र इराकमा आक्रमण गरिरहेको छ ।
यस्तोमा अमेरिकासँग सम्बन्ध खस्किएका देशहरू चीन, रुस र इरानले संयुक्त युद्ध अभ्यास गर्ने भएका छन् । बेइजिङको आयोजनामा तीन देशका नौसेनाहरूले युद्ध अभ्यास गर्ने भएका हुन् ।
इरानी र रुसी सञ्चारमाध्यमले इरानको नौसेना कमान्डर रियर एडमिरल सारम इरानीलाई उद्धृत गर्दै यो अभ्यास मार्चको अन्त्यअघि हुने जनाएका छन् । यो युद्धाभ्यासको उद्देश्य ‘क्षेत्रीय सुरक्षा’ रहेको बताइएको छ ।
हालसम्म यो युद्ध अभ्यास कहाँ गरिनेछ भनेर केही खुलाइएको छैन । गतवर्ष भने यी तीनै देशले गल्फ अफ ओमान समुद्री क्षेत्रमा संयुक्त युद्ध अभ्यास गरेका थिए । यस वर्षको युद्ध अभ्यास मध्यपूर्वमा तनाव बढ्दै गएको बेला हुन लागेको छ ।
मध्यपूर्वमा यतिबेला हमास र इजरायलबीच युद्ध सुरु भएको चार महिना पुगेको छ । हमासको समर्थनमा यमनका हुथी विद्रोहीले रेड सीमा विभिन्न जहाजमाथि आक्रमण गरिरहेका छन् । यस्तोमा अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीमाथि जवाफी आक्रमण गरिरहेको छ । यस्तै, अमेरिकी सेनाले इरान समर्थित लडाकुलाई इराक र सिरियामा पनि आक्रमण गरिरहेको छ ।
जोर्डनमा ३ अमेरिकी सेना मारिएपछि अमेरिकाले इरानी लडाकुमाथि आक्रमण गरिरहेको हो ।


प्रतिक्रिया