उपाधि जित्न नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

उपाधि जित्न नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य



काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्ससामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८४ रनको योगफल खडा गर्‍यो ।

नेपालका आसिफ शेख ४७, गुल्सन झा ३४, कुशल मल्ल २६, रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके। आरिफ शेखले खाता खोल्न सकेनन् ।

पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे ।

गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो । १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर एक सय ५८ रन जोडेको नेपालको त्यसपछि १० रनको अन्तरमा ४ विकेट गुमेपछि रनको गति घटेको थियो ।

नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे ।