कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा



काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।

उनले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा दिपेश पुनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेविरुद्ध समेत उजुरी परेको स्मरण गराए ।

उजुरी परेकामधये पुन पक्राउ परेको तर लामिछाने गृहमन्त्रीमा बहाल रहेको भन्दै उनले प्रश्न उठाएका हुन् ।

उनले भनेका छन्, ‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु । बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए । दिपेश पुन गिरफ्तार भए । तर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ । जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ । तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं ।’

लामिछाने जसरी पनि गृहमन्त्रालय चाहिन्छ भनेर सरकारमा गएको उल्लेख गर्दै उनले स्वार्थ बाझिने मन्त्रालयमा लामिछानेलाई किन नियुक्त गरेको हो भनी प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनले बताए ।

उनले स्वार्थको द्वन्द्व हुने गरी प्रधानमन्त्रीले लामिछानेलाई किन गृहमन्त्री नियुक्त गरेको भन्दै प्रश्नसमेत गरे । उनले यस विषयमा प्रधानमन्त्रीले टेलिभिजनमा जवाफ दिएर नपुग्ने बताउँदै संसद्मा जवाफ दिनुपर्ने जिकिर गरे । सहकारी र लघुवित्त पीडितको कुरा आफूहरूले उठाउँदै आए पनि त्यसबारे गम्भीरतापूर्वक अझै सुनुवाइ नभएको उनको गुनासो थियो ।