संसदीय समिति नबने संसद बैठक चल्दैन : रामहरि खतिवडा

संसदीय समिति नबने संसद बैठक चल्दैन : रामहरि खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसदको बैठक चल्न नदिने बताएका छन् ।

मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग् कुराकानी गर्दै उनले गृहमन्त्री लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए ।

सांसद खतिवडाले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगमी बैठक चल्न नदिने चेतावनी दिए ।

‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन । त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमान्दार हुनुहुन्छ । पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दाह्री पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन् । त्यही जस्तो लाग्छ, उहाँचाहिँ दोषी होइन कि भनेर जवाफ दिनुभयो । हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ । त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ,’ उनले भने ।

संसद् अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको उनले उल्लेख गरे ।