पोखरा । गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस सर्वोच्च जाने तयारी गरेको छ ।
गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको हाे । सभामुखलाई समेत गणना गरेर गैरसंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएकाले सर्वोच्चमा रिट हाल्ने तयारी गरिएकाे हाे ।
गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।
त्यसपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।
मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै कांग्रेसले प्रदेश प्रमुख भट्टलाई पत्रसमेत बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।
यस अघि कोशी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् ।
गण्डकीमा निर्णायक देखिएको २ सदस्य रहेको राप्रपा आन्दोलनलाई देखाउँदै सत्ताकेन्द्रित गतिविधिमा सामेल नहुने बताउँदै आएको छ ।
दुई वा दुईभन्दा धेरै दल मिलेर पनि बहुमत प्राप्त हुने स्थिति नहुँदा संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त हुने रणनीतिमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे थिए ।
प्रतिक्रिया